नगरपालिकाले साइत जुराएपछि एक दिनअघि नै भाइटीका

नगरपालिकाले साइत जुराएपछि एक दिनअघि नै भाइटीका
सुन्नुहोस्

भक्तपुरमा यो वर्ष कात्तिक १७ गते किजा पूजा (भाइटीका) मनाइने भएको छ । भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापतिको अध्यक्षतामा हिजो बसेको बैठकले भाइटीकाको साइत जुराएको हो । 

बैठकमा तलेजुका पुजारी प्रजेशराज राजोपाध्याय, महेश कर्माचार्य, पदमलोचन कर्माचार्य, सिद्धिबीर कर्माचार्य, ज्योतिष वीरेन्द्रप्रसाद कायष्ठलगायत सहभागी भएका थिए । नगरपालिकाले तजेलुका पुजारी नाइकेको सुझाव र तिथिअनुसार यस्तो निर्णय गरेको जनाएको छ । 

जसअनुसार कात्तिक १४ गते काग तिहार, १५ गते कुकुर तिहार/लक्ष्मी पूजा र १६ गते म्हःपूर्जा (गोवर्धन पूर्जा) मनाइने छ । १५ गते दिउँसो ३ बजेर १४ मिनेटपछि औंसी तिथि लाग्ने हुँदा सोही दिन लक्ष्मी पूर्जा पनि गर्ने नगरपालिकाले बताएको छ । 

यस्तै, १६ गते बेलुका सँवा ५ बजेपछि कछलाथ्व प्रतिपदा तिथि पर्ने भएकाले म्हःपूर्जा र १७ गते साँझ ७ बजेर १ मिनेटपछि दितिया तिथि पर्ने भएकाले भाइटीका मनाउने निर्णय भएको नगरपालिकाको भनाइ छ । 

नगरपालिकाले स्थानीयबासीलाई सोही मितिमा स्वन्ती नःखा (तिहार) मनाउन आग्रहसमेत गरेको छ । नेपाली पात्रोअनुसार भने कात्तिक १७ गते म्हःपूर्जा र १८ गते भाइटीका रहेको छ ।
 

टिप्पणीहरू