कार्यवाहक सभापति छान्न सक्दैन रास्वपाले ?

कार्यवाहक सभापति छान्न सक्दैन रास्वपाले ?

नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने धन्दामा संलग्नताको अभियोग लागेपछि टोपबहादुर रायमाझी पार्टीको जिम्मेवारी र सांसद पदबाट निलम्बनमा परे । अहिले पुर्पक्षका लागि थुनामा रहेका उनीविरुद्ध पक्राउ पुर्जी जारी भएलगत्तै एमालेले निलम्बन गरेको थियो । 

तत्कालीन प्रतिपक्ष दलका नेता एमाले अध्यक्ष केपी शर्मा ओलीले शुरुमा रायमाझी पक्राउविरुद्ध असन्तुष्टि प्रकट गरे पनि अन्तत: राज्यले गर्ने अनुसन्धानमा सहयोग पुर्याउन आग्रह गर्दै कानुनी कारबाही प्रक्रिया अन्तिम टुंगो नलागेसम्म उनलाई पार्टीको जिम्मेवारीबाट मुक्त गर्ने निर्णय भएको हो । जिल्ला र उच्च अदालतबाट दोषी ठहर भई थुनामा रहेका उनी अहिले निलम्बनकै अवस्थामा छन् । 

पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करी प्रकरणमा पक्राउ परेपछि नेकपा माओवादी केन्द्रले राजीनामा दिन सुझाव दियो । उनी पक्राउ परेलगत्तै बसेको माओवादी पदाधिकारी बैठकले प्रहरीको अनुसन्धान प्रक्रियालाई सघाउन राजीनामा दिनु उपयुक्त हुने सुझाव दिएको थियो । 

त्यसबेला सञ्चार माध्यममा आएका समाचारलाई मान्ने हो भने महराको अनुसन्धान लम्बिँदै गएको र राजीनामा दिन नमानेको भए बर्खास्त गर्नेसम्मको तयारी माओवादीले गरेको थियो । तर, उनी केही दिनमै अदालतको आदेशले रिहा भएपछि माओवादीले थप प्रक्रिया अघि बढाएन । पार्टी अध्यक्ष प्रधानमन्त्री भएका बेला आफूलाई पक्राउ गरिएको भन्दै असन्तुष्ट रहेका महरा त्यसयता पार्टी राजनीतिमा सक्रिय देखिएका छैनन् । 

अहिले राजनीतिमा नैतिकताको खडेरी छ । कानुन,विधि,पद्धति, प्रक्रिया त मिचिन्छ भने नैतिकताको प्रश्न कमजोर हुने नै भयो । अदालतको आदेश/फैसलालाई समेत चुनौती दिँदै पदमा टाँसिने प्रवृतिले राजनीतिमा जरा गाडिरहेको छ । त्यसैले फौजदारी कसूर लागेका रायमाझी र महराहरुलाई सम्बन्धित पार्टीले निलम्बन गरेको विषय दृष्टान्त बनाउनुपर्ने भएको छ ।

महराको अनुसन्धान लम्बिँदै गएको र राजीनामा दिन नमानेको भए बर्खास्त गर्नेसम्मको तयारी माओवादीले गरेको थियो । तर, उनी केही दिनमै अदालतको आदेशले रिहा भएपछि माओवादीले थप प्रक्रिया अघि बढाएन । 

यतिबेला सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धिकरण सम्बन्धी कसूरमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्वमन्त्री रवि लामिछाने प्रहरी हिरासतमा छन् । गत शुक्रबार काठमाडौँबाट पक्राउ परेका र राति नै पोखरा पुर्याइएका उनीमाथि सूर्यदर्शन सहकारीको बचत अपचलन आरोपमा कास्की प्रहरीले अनुसन्धान गरिरहेको छ । 

जिबी राई अध्यक्ष रहेको गोरखा मिडिया नेटवर्क प्रालिमा सूर्यदर्शन, स्वर्णलक्ष्मी, सुप्रिमलगायतका सहकारीबाट करोडौँ रकम गैरकानुनी रुपमा प्रवाह भएको र कम्पनीको प्रबन्ध निर्देशकको हैसियतमा उक्त रकम परिचालन गरेका लामिछानेलाई रुपन्देही प्रहरीले पनि अनुसन्धान गर्दैछ । स्वर्णलक्ष्मीको बचत अपचलनमा पनि उनीमाथि अनुसन्धान हुने सम्भावना छ । 

एकैचोटी तीन वटा कसूरमा अनुसन्धान हुने भएकाले लामिछानेको हिरासत बसाई लम्बिने निश्चित छ । तर, पुराना राजनीतिक दल र नेतामाथि तिखा प्रश्न गरेर उदाएको रास्वपाले अहिलेसम्म कार्यवाहक सभापतिसमेत तोकेको छैन । 

रास्वपामा अहिले स्वर्णिम वाग्ले र डिपी अर्याल उपसभापति छन् । पार्टीको संस्थापकमध्येका एक अर्याल र अर्थशास्त्रीसमेत रहेका वाग्ले दुबै नेतृत्व लिनसक्ने नेता पनि हुन् । तर, लामिछानेले आफ्नो अनुपस्थितिमा कार्यवाहक दिएका छैनन् ।  

'रास्वपा नै रवि र रवि भनेकै रास्वपा' को भाष्य बनाएर ठूला र पुराना दलमा जस्तै एक व्यक्तिलाई निर्विकल्प नेता मान्दै आएको रास्वपा उल्टै लामिछाने पक्राउविरुद्ध सडकमा उत्रिएको छ । यो प्रकरणले कानुनी राज्य र विधिको शासनप्रति उसको प्रतिवद्धतामाथि प्रश्न त उठेकै छ, पार्टी सन्चालनमा पनि विधि, पद्धति र प्रक्रियासम्मत नरहेको प्रष्ट भएको छ।

टिप्पणीहरू