रविलाई ‘तँ’ नभनिएको प्रहरीको प्रष्टोक्ति

रविलाई ‘तँ’ नभनिएको प्रहरीको प्रष्टोक्ति
सुन्नुहोस्

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई हिरासतमा मानसिक यातना दिइएको भन्ने आरोपको प्रहरीले खण्डन गरेको छ । 

सो पार्टीका नेता-कार्यकर्ताले आफ्ना सभापतिलाई प्रहरीले हिरासतमा दुर्व्यवहार गरेको र 'तँ' भनी बोलाएको भन्दै आपत्ती जनाईरहँदा प्रहरीको खण्डन आएको हो । कास्की प्रहरीले आज एक विज्ञप्ति जारी गर्दै नेपालको संविधानबमोजिम फौजदारी न्याय प्रणालीको मूल्य मान्यतालाई अनुशरण गर्दै अरु थुनुवालाई जस्तै लामिछानेलाई पनि समान व्यवहार गरिएको स्पष्ट पारेको छ । 

गत बिहीबार दोस्रो पटक म्याद थपका लागि कास्की जिल्ला अदालतमा उपस्थित गराउँदा एसपी श्याम ओलियाले लामिछानेलाई ‘तँ’ सम्बोधन गर्दै दुर्व्यवहार गरेको रास्वापा नेताहरुको दावी छ । रविको पक्षमा बहस गरेका वरिष्ठ अधिवक्ता सुशील पन्त, नारायण घिमिरेलगायतले पनि इजलासमै बन्दुकधारी प्रहरी प्रवेश गरेको भन्दै आक्रोश पोखेका थिए । 

तर, जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी बसन्तकुमार शर्माले भने लामिछानेलाई हिरासतमा यातना नदिइएको र अपशब्द पनि प्रयोग नगरेको प्रतिक्रिया दिए । 

'अदालतमा उपस्थित  गराउँदा नेपाल प्रहरीका कर्मचारीले इजलासमा आदरार्थी शब्द प्रयोग नगरेको, इजलासमा हतियारसहित प्रवेश गरेको, धम्क्याएको एंव हिरासतमा समेत दुव्र्यवहार गरेको जस्ता भ्रामक, झुट्टा र अनुमानमा आधारित कपोकल्पित भ्रमपूर्ण विचारहरु टिकटकलगायतका सामाजिक सञ्जालमा सम्पे्रषण भएको सन्दर्भमा जिल्ला प्रहरी कार्यालय, कास्कीको गम्भीर ध्यानाकर्षण भएको छ’, उनले विज्ञप्तिमार्फत भनेका छन् । 

भ्रमपूर्ण समाचारले मुद्धाको तथ्यपूर्ण अनुसन्धानमा नकारात्मक प्रभाव पार्ने भन्दै उनले सबैलाई सचेतसमेत गराए । ‘भ्रामक एंव झूठा समाचारबाट सनमानसमा गतल सूचना सम्प्रेषण र सन्देश प्रवाह हुने र अनुसन्धानमा नकारात्मक प्रभाव हुने भएकाले तथ्यमा आधारित भएर मात्र सूचना सम्प्रेषण गर्न र गराउनुहुन अनुरोध गरिएको छ’, डिएसपी शर्माले भनेका छन् । 

लामिछानेलाई ‘तँ’ भनेको आरोप लागेका एसपी ओलियालाई जनआस्थाले सोधेको थियो, ‘त्यस्तो गर्नुभएको हो ?’ जवाफमा उनले भने, ‘उहाँ पूर्वउपप्रधानमन्त्री, पूर्वगृहमन्त्री भइसकेको मान्छे, मैले किन तँ भनुँला र ! उहाँलाई मात्रै होइन, हामीले कोही थुनुवालाई पनि तँ भनेर सम्बोधन गर्दैनौँ । बाहिर कसले , कुन उद्धेश्यले अफवाह र भ्रम फैलाउछ, त्यो हामीलाई थाहा हुदैन ।’

टिप्पणीहरू