एक दर्जन प्रहरीलाई सात दिने पूर्जी
नेपाल प्रहरीले लामो समयदेखि बेपत्ता एक दर्जन प्रहरीको खोजी थालेको छ । बिना जानकारी गैरहाजिर १२ जनालाई प्रहरी प्रधान कार्यालयले सम्पर्कका लागि सूचना निकालेको हो ।
विभिन्न मितिमा बेपत्ता उनीहरुको नाममा पटक-पटक सूचना टाँस गर्दासमेत बेवास्ता गरेको जनाउँदै चित्तबुझ्दो स्पष्टीकरणसहित सात दिनभित्र हाजिर हुन भनिएको छ ।
‘आफूखुशी कार्यालयमा गैरहाजिर रहेका र खोजतलास गर्दा गराउँदा तथा प्रहरी नियमावली, २०७१ को नियम ११५ को देहाय (२) बमोजिम प्रक्रिया पूरा गरी सूचना टाँस भई सक्दा समेत कार्यालयको सम्पर्कमा नआउनु भएकोले हाजिर हुन आउनेबारे यो सूचना प्रकाशित गरिएको छ । यो सूचना प्रकाशित भएको मितिले बाटोको म्यादबाहेक सात दिनभित्र आफू गैरहाजिर रहनुको कारण खोली सन्तोषजनक स्पष्टीकरण जवाफसहित यस कार्यालय वा सूचना जारी गर्ने कार्यालयमा हाजिर हुन आउनुहोला’, आज जारी सूचनामा उल्लेख छ ।
स्पष्टीकरण सोधिएकामा प्रहरी नायब निरीक्षक अशोक दर्नाल, सहायक निरीक्षक सन्तोष भुषाल, पर्वराज पाण्डे र प्रेमचन्द्र जैसवाल, प्राविधिक जवान दिलकुमार लो तामाङ, जवान टेकनारायण कँडेल, सिद्धार्थकुमार साह, खेमराज श्रेष्ठ, सुरज खड्का र विष्नु केसीसहित कार्यालय सहयोगी गोविन्दबहादुर आले र धर्मराज भर रहेका छन् ।
तोकिएको समयमा स्पष्टीकरणसहित उपस्थित नभएमा प्रहरी नियमावली, २०७१ को नियम ११३ को उपनियम (१) को खण्ड (च) को कसूरमा सोही नियमावलीको नियम १०९ को देहाय (ख) (१) बमोजिम सेवाबाट हटाउने चेतावनी दिइएको छ ।
टिप्पणीहरू