शुद्धशान्ति नसकिँदै ढुङ्गागिट्टीतिर मन !
मानिसको मृत्यु भएपछिका १३ दिनसम्मको मृत्युसंस्कार किरियाघरमा र ४५ दिनसम्म रीतपूर्वक शुद्धशान्ति कर्म गरिन्छ।
यो भनेको मनलाई शान्त राख्ने, सत्कर्ममा मन लगाउने र सबैको भलो चिताउनैपर्ने समय हो । प्रतिष्पर्धा, सांसारिक लोभ, मोह समेतबाट पर बसेर यो अवधि पार गर्न विभिन्न धर्म, संस्कृति र संस्कारहरूले सिकाउने गरेका हुन्छन् । यसलाई अत्यन्तै मानवीय संवेदनायुक्त समय मानिन्छ । यस वर्षको वर्षा यामको अन्त्यतिर अर्थात असोज दोश्रो साता गएको बाढीका कारण ललितपुरको महाँकाल, कोञ्जोस्योम, बागमती गाउँपालिका तथा नगरपालिका क्षेत्रमा समेत मानवीय तथा ठूलो धनसम्पतिको क्षति भयो ।
यो विपत्तिको अवस्था सकिएर एक महिना पनि नपुग्दै स्थानीय तहका जनप्रतिनिधिहरू भने बाढीले बगाएर ल्याएको रोडाढुंगा व्यवस्थापनका नाममा ढुंगागिट्टीको दोहनमा लागेका छन् । काभ्रेको रोशी र ललितपुरको नख्खु आसपास ढुंगा खानीका नाममा भएको जथाभावी उत्खनन्, खोलाछेउमा थुपारिएको रोडा उद्योगको धुलो र ग्रामीण क्षेत्रमा जथाभावी खनिएका सडक नै विपत्तिका हुन् भन्ने तथ्य स्थापित भइसकेको छ । यसकै कारण यति ठूलो जनधनको क्षति भएको शुद्धशान्ति कर्मसमेत नसकिँदै जनप्रतिनिधिले आफ्ना मान्छे लगाएर ढुंगाको व्यापारतिर नजर लगाएकोमा स्थानीय बासिन्दा चकित भएका छन् । महांकाल गाउँपालिकाले सूचना निकालेरै बाढीले बगाएर थुपारेको खोला आसपासको ढुंगा–गिट्टी संकलनका लागि व्यवसायीसँग प्रस्ताव आह्वान गरेको छ ।
नख्खु खोलामा क्रसर र ढुंगा उद्योग राख्ने व्यवसायीले गोदावरी नगरपालिका र कोञ्जोस्योम गाउँपालिकाका जनप्रतिनिधिसँग छलफलसमेत गरेका छन् । भारदेउदेखि तल वासुकी क्षेत्र, टीकाभैरव हुँदै नख्खुसम्मकै ढुंगा–गिट्टी संकलनका लागि आफूअनुकूल सूचना आह्वान गरिदिन नगरपालिकाका मेयर, उपमेयर र प्रभावशाली वडाध्यक्षसँग बैठक भइरहेको छ । गोदावरी बागमती प्रदेश सरकारले तय गरेको भन्दा न्यून दरमा व्यवसायीसँग मिलेमतो गरेर रोडाढुंगा निकासी गरेका कारण अख्तियारले ४ अर्बभन्दा बढी अनियमितता भएको भन्दै मुद्दा दायर गरिएको नगरपालिका हो । नियमित ढुंगा गिट्टी संकलनमा त कानुन लत्याएर मनोमानी गर्ने जनप्रतिनिधिहरूलाई यो बाढी अजिंगरको आहारा दैवले पुर्याउँछ भनेजस्तै भएको छ, लेलेका एक स्थानीयले भने ।
खानी तथा भूगर्भ विभागले मापदण्ड नपुगेको भन्दै खानी बन्द गर्न निर्देशन दिएको करिब १० वर्ष भइसक्दा पनि पहिले नै उत्खनन भएर थुपारिएका ढुंगाहरू भन्दै जनप्रतिनिधिको संरक्षणमा अवैध ढंगले ढुंगा उत्खनन भइरहेकै कारण यो महाविनाश भएको वातावरणविद्हरू बताउँछन् । मृतकका आफन्तकोमा शुद्धशान्ति नसकिँदै र पालिकाहरूमै एक हिसावले शोकजस्तै भएको बेला जनप्रतिनिधिले बाढीका नाममा खोलामा जम्मा भएको ढुंगागिट्टी आफ्नो तजविजी ढंगले निकासी गर्न लागेकोले स्थानीयहरू चकित र आक्रोशित भएका छन् ।
(साभार:जनआस्था साप्ताहिकबाट)
टिप्पणीहरू