भोलिदेखि प्रारम्भ हुने छठको समापन शुक्रबार बिहान

भोलिदेखि प्रारम्भ हुने छठको समापन शुक्रबार बिहान

मिथिलाञ्चल क्षेत्रमा मनाइने छठ पर्वको तयारी शुरु भएको छ । विशेषगरी तराईका जिल्लामा मनाइने यो पर्वमा जनकपुरधामका पोखरीहरुलाई सजाउने क्रम जारी छ । 

बजारमा पनि पूजा सामग्री किन्नेहरुको चहलपहल बढेको छ । छठ पर्वमा प्रयोग हुने विभिन्न सामग्री किन्न बजारमा मानिसहरुको भीड देखिन्छ । त्यस्तै, सूर्य भगवानलाई अघ्र्य दिन मिथिलाञ्चलको नदी, तलाउ, पोखरी, इनारलगायत जलाशयको किनारमा घाट बनाएर सिंगारिँदै छ । 

जनकपुरधामको धार्मिक तथा ऐतिहासिक पोखरीहरु गंगा सागर, धनुष सागर, अंगराजसर, दशरथ तलाउलगायत पोखरीलाई पनि सजाइँदै छ । तिहार सकिएलगत्तै छठको तयारी शुरु गरिएको गंगा सागर छठ पूजा समिति अध्यक्ष हरिनारायण गुप्ताले जानकारी दिए । 

विगतको तुलनामा राम्रो व्यवस्थापन र श्रृंगार गरिने उनको भनाइ छ । जनकपुरको प्रसिद्ध गंगा सागर, धनुष सागर, अंगराजसर पोखरीमा मात्रै विगतका वर्षमा ११ हजारभन्दा बढी श्रद्धालुहरुले छठ पूर्जा गरेका थिए ।

तराई–मधेशका ग्रामीण भेगका पोखरीलाई पनि छठ पर्वमा सजाउने तथा सरसफाई गर्ने कार्य भइरहेको छ । चार दिनसम्म मनाइने छठको पहिलो दिन ब्रतालुहरु नुहारलाई अरबा अरबाईन भोजन गर्छन् । 

दोस्रो दिन साँझ प्रसादको रुपमा चामल, सख्खर र दुध मिलाएर बनाएको खिर ग्रहण गरी खरना गर्दछन् । त्यस्तै, तेस्रो दिन अस्ताउँदो सूर्यलाई अघ्र्य दिन तयार पारेको पूजा सामग्री घाटमा लगेर पूर्जा गरिन्छ । चौथो दिन बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि छठको विधिवत समापन हुन्छ ।

टिप्पणीहरू