सत्तामा सञ्चै, जिल्लामा ङारङुर

सत्तामा सञ्चै, जिल्लामा ङारङुर

सत्ता गठबन्धनमा रहेका दुई प्रमुख दल कांग्रेस र एमाले जिल्लाका विभिन्न निर्वाचनमा भने ‘वार’ गर्न थालेका छन् । दुई ठूला दल पछिल्ला तीन निर्वाचनमा सत्ता सहकार्यलाई अस्वीकार गर्दै प्रतिस्पर्धामा उत्रेका छन् । 

काभ्रे जिल्ला सहकारी संघमा नेकपा (एमाले) ले आफ्ना उम्मेदवारलाई हराएको बदला बार एशोसिएसनमा एक मतले जितेर लिएको छ । सहकारी संघमा कांग्रेससँग समाजवादी, माओवादी मिले । त्यसबेला एमाले उम्मेदवार राजन शाक्यलाई हराउँदै उक्त समूहका अमन पोटे विजयी भए पनि बारमा भने परिणाम उल्टो आयो । नेपाली कांग्रेस फुट्यो । समाजवादी फुटेको कांग्रेस संस्थापनसँग मिल्यो । एमालेसँग कुनै पनि हालतमा मिल्नु हुँदैन भन्दै सहकारी संघमा कांग्रेससँग नजिकिएको समाजवादी बारमा शून्य भयो । बारमा कांग्रेसका ७, वैद्य समूहका ८, माओवादीका ८, स्वतन्त्रसमेत गरी एमालेका ३४ बाट ५८ मत ल्याउँदै हरिशरण दाहाल एक मतले विजयी भए । 

नेपाल रेडक्रस सोसाइटीको निर्वाचनमा भने एमालेले उम्मेदवारी नै दिएन । नेपाली कांग्रेसको एउटा समूहले बनेपाका देवेन्द्र भैललाई सभापति पदमा उठाएको थियो । उनलाई माओवादी र समाजवादीको साथ थियो भने कांग्रेसकै अर्काे समूहले विदुर घिमिरेलाई उठाएको थियो । जिल्लामा विपद छ । कांग्रेस मन्त्री ल्याउन प्रतिस्पर्धा गर्दै छ तर कांग्रेसबाटै निर्वाचित नगर प्रमुखचाहिँ खानेपानी नदिने घोषणा गरिरहेका छन् । खानेपानी मन्त्री ल्याएर बाजा बजाएको कांग्रेस काभ्रेले पनौतीमा भने प्रमुख रामशरण भण्डारीको तर्फबाट खुलेरै भन्योे केन्द्रमा पुगे पनि पानीचाहिँ दिन्न । खानीका बारेमा अहिले बोल्दिनँ । त्यही खानीका कारण भएको क्षतिबारे संघ सरकार पनि बोलेको छैन । एमालेले अहिलेसम्म पोलिटब्युरो सदस्य गोकुल बाँस्कोटाबाहेक कोही नेतालाई प्रदर्शन गरेको छैन । माओवादीले अध्यक्ष प्रचण्ड स्वयंलाई ल्यायो । कांग्रेसले पनि सभापतिबाहेकका नेता ल्याएको छ । तैपनि नागरिकका समस्याबारे सरकारले केही बोल्न सकेको छैन । 

पनौती नगरपालिकाले खानी सञ्चालन गर्न दिने तर पानी नदिने रणनीति अवलम्बन गरेपछि नागरिकहरू व्याकुल छन् । ‘असोज १०–१२ को अविरल वर्षातले रोशीको शिरदेखि तीरसम्मको क्षेत्रमा धेरै क्षति पुर्‍याएको छ । बेथान्चोक गाउँपालिकामा पनि खानी क्षेत्रका कारण क्षति पुगेको छ । प्लटिङ र जथाभावी खनिएका सडकको कारण क्षति भएको हो ।’ खानीसँगै सडक छेउमा राखिएका क्रसर त्यसको अर्काे सहायक कारण हो । पनौती नगरपालिका जन्मनुअघि नै धुलिखेल नगरपालिका निर्माणका लागि तत्कालीन भुमेडाँडा गाउँ विकास समितिबाट लगिएको खानेपानी विपदपछि रोक्ने गरी अभिव्यक्ति दिने जनप्रतिनिधिले अन्यत्रको श्रोतमा नाकाबन्दी गरे भने नगरको विकास कसरी सम्भव होला ?

पनौती नगरपालिकाले खानीका कारण वार्षिक ३० करोडभन्दा धेरै रकम उठाउँदै आएको छ । तर त्यही खानीका कारण नागरिकहरूले ३० औं अर्बको सम्पत्ति र ज्यान गुमाएका छन् । विस्थापित बस्तीको व्यवस्थापनभन्दा धुलिखेल र बनेपा नगरपालिकामासमेत लगिएको खानेपानी रोक्न जनप्रतिनिधि सक्रिय भएका छन् । सदरमुकामसमेत रहेको धुलिखेल, अन्तर्राष्ट्रिय स्तरको अस्पताल, विश्वविद्यालय र होटलहरूको भविश्यसमेत पछि धकेल्ने गरी पनौतीका जनप्रतिनिधिहरूले शुरु गरेको राजनीतिले उनीहरूलाई नै असर पर्ने निश्चित छ ।

(साभार:जनआस्था साप्ताहिकबाट)

 

टिप्पणीहरू