चिनियाँ राष्ट्रपतिद्वारा ट्रम्पलाई बधाई, इतिहासको वस्तुनिष्ठ समीक्षा गर्न आग्रह

चिनियाँ राष्ट्रपतिद्वारा ट्रम्पलाई बधाई, इतिहासको वस्तुनिष्ठ समीक्षा गर्न आग्रह फाइल फाेटाे

अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएपछि डोनल्ड ट्रम्पलाई विश्वभरका नेताहरुले बधाई दिने क्रम जारी छ । चिनियाँ राष्ट्रपति सी जिनफिङले हिजो पठाउनुभएको बधाई सन्देशमा चीन र संयुक्त राज्य अमेरिकाले सहयोगबाट फाइदा उठाउने तर मुठभेडबाट पीडित भएको वास्तविक इतिहासतर्फ संकेत गर्नुभएको छ ।

उहाँले ट्रम्पको आगामी कार्यकालमा बेइजिङ र वासिङ्टनबीच सहकार्यका उपाय खोज्नुपर्नेमा जोड दिनुभएको छ । सन्देशमा भनिएको छ, ‘स्थिर, स्वस्थ र दिगो चीन–अमेरिका सम्बन्ध दुवैको साझा हितमा छ । साथै यो अन्तर्राष्ट्रिय समुदायको अपेक्षा अनुरूप पनि छ ।’

राष्ट्रपति सीले अमेरिकालाई ‘संवाद र सञ्चारलाई मजबुत बनाउन’ र ‘मतभेदको उचित व्यवस्थापन’ गर्न आग्रह गर्दै नयाँ युगमा विश्वका प्रमुख दुई ठूला अर्थतन्त्रले उपयुक्त मार्ग रोज्नुपर्नेमा जोड दिनुभएको उल्लेख छ ।

यसअघि निर्वाचन प्रचारको क्रममा ट्रम्प र प्रतिद्वन्द्वी तथा वर्तमान उपराष्ट्रपति कमला ह्यारिस दुवैले बेइजिङसँगको व्यापारमा कडा कदम चाल्ने भन्दै मतदाताबीच वाहवाही मच्चाएका थिए । ट्रम्पले अमेरिका प्रवेश गर्ने सबै चिनियाँ सामानमा ६० प्रतिशतसम्म कर लगाउने घोषणा गरेका छन् ।

टिप्पणीहरू