आन्दोलनसँगै चुनावी तयारीमा रास्वपा
सहकारी ठगीमा समातिएका सभापति रवि लामिछानेको रिहाइका लागि सडक संघर्षमा व्यस्त राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उपचुनावको तयारीमा जुटेको छ ।
आगामी मंसिरमा हुने उपनिर्वाचनको लागि उम्मेदवारी मनोनयनको मिति नजिकिएसँगै सो पार्टीले आन्तरिक तयारी थालेको हो । उम्मेदवार टुंगो लगाउन प्रारम्भिक निर्वाचन गर्ने निर्णय गरेको रास्वपाले संघीय सांसद तथा केन्द्रीय सदस्य गणेश पराजुलीको नेतृत्वमा निर्वाचन संयोजन समिति गठन गरेको छ ।
पराजुलीले आज सूचना सार्वजनिक गर्दै उम्मेदवारी दर्ताको आह्वान गरेका छन् । कात्तिक २५ गते दिउँसो २ बजेसम्म अनलाइन फारम भरेर उम्मेदवारी दर्ता गर्न सकिने सूचनामा जनाइएको छ ।
पराजुलीका अनुसार सोही दिन साँझ ८ बजे प्रारम्भिक उम्मेदवारहरुको नामावली सार्वजनिक गरिने छ । २६ गते साँझ ५ बजेसम्म त्यसउपर दाबी विरोध, भोलिपल्ट दाबेदारहरुसँग छलफल गर्ने र २८ गते औपचारिक निर्णय हुनेछ । २९ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने बताइएको छ ।
मंसिर १६ गते हुने उपनिर्वाचनलाई लक्षित गर्दै रास्वपाले सातै प्रदेशमा नेतृत्व पनि तोकेको छ । जसअनुसार कोशीमा निशा डाँगी, मधेसमा डा. चन्दा कार्की र बागमतीमा शिशिर खनाललाई जिम्मेवारी दिइएको छ । गण्डकीमा विन्दवासिनी कंसाकार, लुम्बिनीमा कुसुम महर्जन, कर्णालीमा लिमा अधिकारी र सुदूरपश्चिममा विष्णु कुमार श्रेष्ठ तोकिएका छन् ।
टिप्पणीहरू