टेलिकमका सफाईकर्मीको बिलौना,‘उमेर छउञ्जेल यहाँ, अब कहाँ ?’
गत कात्तिक १२ गतेदेखि काठमाडौँको बबरमहलस्थित नेपाल टेलिकमको केन्द्रीय कार्यालयबाहिर एउटै आवाज गुञ्जिरहेको छ,‘श्रम कानुन कार्यान्वयन गर ।’ यो नारा लगाउने टेलिकममै कार्यरत सरसफाई श्रमिक हुन् ।
कात्तिक ११ गते काम सकेर घर गएका उनीहरु भोलिपल्ट काम गर्न भनि कार्यालय आए । तर, सुरक्षाकर्मीले भित्र छिर्न नदिएपछि गेटबाहिरै धर्ना थालेका २९ जना महिला कर्मचारी त्यसयता निरन्तर प्रदर्शनमा छन् ।
तर, टेलिकम प्रशासनले उनीहरुको आवाज सुनेको छैन् । उल्टै प्रहरी बोलाएर दमन गरेको छ । प्रहरीले लछारपछार गर्दा अधिकांशको कम्मरको छाला गएको छ भने कतिपयको हातगोडामा चोटपटक लागेको छ । प्रहरीले दुईपटक समातेर उनीहरुलाई सिंहदरबारस्थित प्रहरी वृत्त पुर्याइसकेको छ ।
आज बिहान साढे ५ बजेदेखि धर्नामा बसेका उनीहरु फेरि पक्राउ परे । जिल्ला प्रशासन कार्यालय, काठमाडौंले अबदेखि आन्दोलन नगर्ने सम्झौता गरेमा मात्र छोड्ने भनेको छ । उनीहरु भन्छन्,‘हाम्रो रोजीरोटी गुमेको छ । कसरी आन्दोलन गर्दैनौं भनेर सम्झौता गर्नु ?’
के हो घटना ?
सेवाबाट जबर्जस्ती निकालिएका सबै श्रमिकले लामो समय टेलिकममा बिताएका छन् । कोही २३ वर्षदेखि त्यहाँ कार्यरत छन् त कोही १८ वर्षदेखि । ठेकेदारी प्रथाअनुसार राखिएका ति कर्मचारीले मासिक १७ हजार रुपैयाँ तलब पाउथें । साढे तीन हजार सामाजिक सुरक्षा कोषबापत काटिन्थ्यों ।
उनीहरुका अनुसार ठेकेदार परिवर्तन भएपनि श्रमिक परिवर्तन नगर्ने भनि टेलिकमले सम्झौता गरेको छ । सम्झौता मुताविक हालसम्म चार जना ठेकेदार परिवर्तन भए पनि उनीहरु काम गरिरहेका थिए । टेलिकमकै जागिरले रोजीरोटी धान्दै आएका उनीहरु एक्कासी जागिरबाट निकालिएपछि यतिबेला बिचल्लीमा परेका छन् । बिहान-बेलुकाको छाक टार्नसमेत समस्या परेको एक कर्मचारीले गुनासो गरे ।
'अघिल्लो दिन कामबाट फर्कंदासम्म केही भनिएको थिएन । भोलिपल्ट कार्यालय पुग्दा नयाँ कर्मचारी ल्याइएको थियो । हामीलाई गेटमै रोकियो । सुरक्षाकर्मीले प्रवेश गर्नै दिएनन्', उनले भने, 'सोधखोज गर्दा कामबाट निकालिएको खबर पाएपछि छाँगाबाट खसेझैं भयौँ ।'
आन्दोलनरत अर्का कर्मचारीका अनुसार टेलिकमले न्यून पारिश्रमिकमा नयाँ कर्मचारी ल्याएको छ । थोरै तलव दिएर काममा लगाउने र नाफा खाने उद्धेश्यका साथ आफूहरुलाई निकालिएको उनको अनुमान छ ।
‘हाम्रो गल्ती भए देखाइदिनुपर्यो । यहाँ गल्ती भयो, त्यसैले निकालिदियौं भन्नुपर्यो । बिना जानकारी यसरी हटाउन त मिलेन् नि । हाम्रो रोजीरोटीको सवाल छ । उमेर छउञ्जेल यहाँ काम गर्यौं, अब कहाँ जाने ? कसले हामीलाई काममा राख्छ ? हामीले काम गरेनौं भने हाम्रो घर चल्दैन् । टेलिकमको यो ज्यादती हो । कि त हामीलाई अर्को जागिरको व्यवस्थापन गरिदिनुपर्यो कि पुनःबहाली गर्नुपर्यो’,उनले दु:खेसो पोखे ।
सबैको पीडा उस्तै
सरसफाईको काम गर्नु रहर होइन्, बाध्यता हो । शौचालय सफा गर्न आखिर कसलाई चाँहि रहर लाग्छ र ? टेलिकममा काम गर्ने सबैको आ–आफ्नै पीडा छ । कोही एकल महिला छन् त कसैका श्रीमान् बेरोजगार ।
उनीहरुले काम नगरे घरमा चुल्हो बल्दैन् । जागिरबाट निकालिएका उनीहरुको ‘न टेक्ने खुड्किलो छ न समाउने हाँगो ।’ छोराछोरीको पढाइसमेत छुट्ने डरमा छन्, उनीहरु । जागिरबाट हटाइएकोमध्ये मिना थापा, लक्ष्मी सारु, दीपा मगर, सानु मगरले टेलिकममा काम गरेको २३ वर्ष बितिसकेको छ । अरुले पनि १७–१८ वर्ष बिताइसकेका छन् ।
कलिलै उमेरमा टेलिकममा काम गर्न आएका उनीहरु अधिकांश ४० वर्षको भए । उनीहरुको यौटै पीडा छ- ‘हामी यहाँ काम गर्न आउँदा २०–२१ वर्षको थियौं । सरसफाईको काम गर्न कसलाई रहर लाग्छ र ? आफ्नो बाध्यताले गर्दा गर्यौं । ट्वाइलेट सफा गर्नलाई पञ्जा पनि दिँदैनथें । यत्रो वर्ष काम गरेपछि हामीलाई निकालिएको छ । अब हामी कहाँ जाने ? हामीलाई कसले जागिरमा राख्छ ? हामीले काम गरेनौं भने घरमा चुल्हो बल्दैन् ।’
रामेछापकी सानीकाली बोहोराले टेलिकममा जागिर खाएको १७ वर्ष पुरा भएर १८ वर्ष लागेको छ । न्युरोडमा डेरा गरी बस्ने उनी ४१ वर्षकी भइन् । उनको श्रीमान् प्यारालाइसिसले ओछ्यानमा थलिएका छन् । घरमा कमाउने उनीमात्रै हुन् ।
उनको कमाइले तीन सन्तानको पढाइ, कोठाभाडा, रासन, श्रीमान्को औषधीउपचार जसोतसो धानिंदै आएको थियो । तर, अब के गर्ने सानीकालीलाई थाहा छैन । ‘दिनमा भोक न रातमा निद्रा’ को अवस्थामा पुगेको उनले बताइन् ।
‘श्रीमान्ले गाउँमा खेतीकिसानी गर्नुहुन्थ्यो । म यहाँ काम गर्थें । तीन जना सन्तान मेरै कमाइले पढाइरहेकी थिए । श्रीमान् थलो पर्नुभएपछि मेरो बिजोग भएको छ । श्रीमान् ट्वाइलेटसमेत जान सक्नुहुँदैन् । आफैंले लैजानुपर्छ । केटाकेटी सानै छन् । अब कसरी घरखर्च धान्ने भन्ने तनावले पिरोल्न थालेको छ’,उनले दु:ख सुनाइन् ।
मकवानपुरकी रिता दोङको समस्या पनि उस्तै छ । जागिरबाट निकालिएपछि अपाङ्ग सन्तानलाई कसरी पाल्ने चिन्ताले पिरोलिएकी उनी भन्छिन्,‘एउटी छोरी अपाङ्ग छे । अब के गर्ने होला । मेरो पनि खुट्टा भाँचिएको छ । बाँच्नै धौं–धौं पर्छजस्तो छ ।’
टेलिकमबाट निकालिएकी रमा थापाको पनि उस्तै पीडा छ । यसअघि श्रीमान जागिरबाट निकालिँदा पनि जेनतेन गुजारा चलाउँदै आएकी उनलाई घर खर्चकै चिन्ताले सताएको छ ।
काभ्रेपलाञ्चोकको कात्तिके देउरालीकी सावित्रा चौंलागाईं टेलिकममै काम गर्थिन् । उनको श्रीमान् ज्यामी काम गर्छन् । उनले बैंकबाट कर्जा लिएर सीतापाइलामा घर बनाएकी छिन् । पछिल्लो दिन श्रीमानले पनि काम पाइरहेका छैनन् ।
‘बैंकबाट ३० लाख रुपैयाँ कर्जा लिएर सीतापाइलामा घर बनाएकी छु । श्रीमानले ज्यामी काम गर्नुहुन्थ्यो । त्यो पनि दिनहुँ हुँदैन् । अब घरको किस्ता पनि तिर्न सकिँदैन्जस्तो छ । बैंकले घर खाइदिने भयो’,उनले गुनासो गरिन् ।
टिप्पणीहरू