काँग्रेसबाट सरदार र भण्डारी उठ्ने

काँग्रेसबाट सरदार र भण्डारी उठ्ने

सत्तारुढ नेपाली कांग्रेसले आसन्न उपनिर्वाचनका लागि मोरङको ग्रामथान र दैलेखको महाबु गाउँपालिकाको अध्यक्ष पदका उम्मेदवार टुंगो लगाएको छ । 

दुबै जिल्ला संसदीय समितिको आज बसेको बैठकले उम्मेदवारको नाम निर्क्यौल गरेको हो । जसअनुसार ग्रामथान गाउँपालिकाको अध्यक्षमा बलराम सरदारले टिकट पाउने भएका छन् । 

जिल्ला सभापति डिकबहादुर लिम्बुको संयोजकत्वमा गठित समितिले १३ जना आकांक्षीबाट सरदारको नाम सर्वसम्मत चयन गरेको सो पार्टीले जानेको छ ।  

त्यस्तै, महाबु गाउँपालिकाको अध्यक्षमा झलकबहादुर भण्डारीलाई उम्मेदवार बनाउने कांग्रेसको निर्णय छ । आज बसेको बैठकले १६ जना आकांक्षीबाट उनको नाम सर्वसम्मत छानेको हो । 

जिल्ला समन्वय समिति प्रमुख, नगरपालिका प्रमुख, उपप्रमुख, गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र वडाध्यक्ष गरी रिक्त ४४ पदमा मङ्सिर १६ गते उपनिर्वाचन हुँदैछ । मङ्सिर २ गते उम्मेदवारी मनोनयनको मिति तोकिएको छ । उम्मेदवारी दिने उक्त समयसीमा नजिकिएसँगै दलहरुले उम्मेदवारको नाम धमाधम टुंगो लगाइरहेका छन् ।

टिप्पणीहरू