उम्मेदवार छान्न नेकपा एसको निर्देशन
नेकपा एकीकृत समाजवादीले आसन्न स्थानीय तह उपनिर्वाचनका लागि उम्मेदवारको नाम सिफारिस गर्न प्रदेश कमिटीलाई निर्देशन दिएको छ ।
नेकपा माओवादी केन्द्र लगायत बिचार मिल्ने पार्टीसँग तालमेल गर्ने तयारीमा रहेको नेकपा एसले कात्तिक मसान्तभित्र उम्मेदवारको नाम सिफारिस गरी पठाउन सम्बन्धित प्रदेशलाई निर्देशन दिएको हो । स्थानीय तहको आवश्यकता बुझेका, अनुभवी, साङ्गठनिक क्षमता भएका र जनताका समस्या समाधान गर्न सक्ने नेताको पहिचान गरी उम्मेदवार सिफारिस गर्न पार्टीले निर्देशन दिएको सचिव सोमप्रसाद पाण्डेयले जानकारी दिए ।
आगामी मङ्सिर १६ गते हुने उपनिर्वाचनका लागि मङ्सिर २ गते मनोनयन दर्ता गर्ने समयसीमा तोकिएको छ । जिल्ला समन्वय समितिका प्रमुख दुई, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार, नगरपालिका प्रमुख एक, उपप्रमुख एक र वडाध्यक्ष ३४ गरी ४४ रिक्त पदका लागि उपचुनाव हुँदैछ ।
उम्मेदवारी मनोनयनको मिति नजिकिएसँगै प्रमुख दलहरुले धमाधम उम्मेदवारको नाम टुंगो लगाइरहेका छन् । तालमेल गर्ने कि नगर्ने भन्ने अन्योलतामा रहेको एकीकृत समाजवादीले भने अहिलेसम्म नाम टुंग्याएको छैन ।
समान विचारधारा भएका पार्टीसँग सहकार्य गर्ने तर सत्तारुढ दलहरूसँग चुनावी गठबन्धन नगर्ने सो पार्टीले स्पष्ट पारेको छ ।
टिप्पणीहरू