पाँच एजेण्डामा छलफल गर्न रास्वपाको केन्द्रीय समिति बस्दै

पाँच एजेण्डामा छलफल गर्न रास्वपाको केन्द्रीय समिति बस्दै

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समिति बैठक बोलाएको छ । भोलि बिहान साढे ११ बजे वनस्थलीस्थित केन्द्रीय कार्यालयमा बस्नेगरी बैठक डाकिएको हो । 

आगामी मंसिर १६ गते हुने स्थानीय उपनिर्वाचन, सभापति रवि लामिछाने पक्राउको विरोधमा भइरहेको आन्दोलनको समीक्षा, समसामयिक राजनीतिलगायतका विषय बैठकको एजेण्डा रहेको पार्टीका प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए । 

‘भोलि बिहान साढे ११ बजे केन्द्रीय समितिको बैठक बस्दैछ । बैठकको मुख्य एजेण्डा सभापति पक्राउविरुद्ध भइरहेको आन्दोलनको समीक्षा, आन्दोलनका नयाँ कार्यक्रमबारे छलफल, जनताका मुद्दाबारे छलफल रहेको छ । भोलिको बैठकबाट आगामी दिनको कार्यक्रम तय गर्छौं’, उनले भने । 

सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धिकरण कसूरमा पक्राउ परेका लामिछाने तीन सातादेखि कास्की प्रहरीको हिरासतमा छन् । उनलाई छोड्न माग गर्दै रास्वपाले निरन्तर प्रदर्शन गरिरहेको छ ।
 

टिप्पणीहरू