चिफ अफ स्टाफमा चुनावी म्यानेजर, अवैध आप्रवासीलाई हटाइने ट्रम्पको प्रतिबद्धता

चिफ अफ स्टाफमा चुनावी म्यानेजर, अवैध आप्रवासीलाई हटाइने ट्रम्पको प्रतिबद्धता

नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अवैध आप्रवासीलाई आफ्नो सरकारले हटाएरै छाड्ने बताउनुभएको छ । निर्वाचनमा विजयी भएपछि दिइएको अन्तर्वार्तामा उहाँले चुनावी वाचा तत्काल पूरा गर्ने प्रतिबद्धताअन्तर्गत उक्त कार्य अगाडि आएको छ । 

ट्रम्पले आफूले सत्ता सम्हालेपछि अवैध आप्रवासीलाई तत्काल उनीहरुकै देशमा फर्काउने र मेक्सिकोसँगको सीमानालाई थप बलियो बनाउने आफ्नो प्राथमिकतामा रहेको उल्लेख गर्नुभएको छ । 

एनबीसी न्यूजसँगको अन्तर्वार्तामा उहाँले अवैध आप्रवासीलाई अमेरिकाबाट निकाला गरिने कुरोलाई प्राथमिकताकासाथ राख्नुभएको हो । उहाँको निश्कर्ष छ, ‘आप्रवासीका कारण अमेरिकामा हत्या हिंसा बढ्यो । लागूऔषध कारोबारीहरुले अमेरिका र अमेरकीलाई नष्ट गर्दैछन् ।’

यसबीच ट्रम्पले ह्वाइट हाउसको चिफ अफ स्टाफमा सुसी विल्सलाई नियुक्त गर्नुभएको छ । सुसी ट्रम्पको चुनावी अभियानकी मेनेजर हुन् । उनी अमेरिकी इतिहासमा ह्वाइट हाउसको चिफ अफ स्टाफ नियुक्त हुने पहिलो महिला बनेकी छन् । अमेरिकामा ४७ औं राष्ट्रपतिको रुपमा डोनल्ड ट्रम्पले आगामी जनवरी २० का दिन पदभार ग्रहण गर्दैछन् ।

को हुन् विल्स ? 

सुसी विल्स सन् १९८० को राष्ट्रपतीय निर्वाचनमा रोनल्ड रेगनको चुनावी अभियानमा सामेल भएकी थिइन् । यसअघि सन् २०१६ र २०२० को चुनावी अभियानमा उनी ट्रम्पको वरिष्ठ सल्लाहकार थिइन् । 

ह्वाइट हाउसमा कर्मचारी परिचालन, राष्ट्रपतिको भेटघाट र कार्यक्रम तय, अन्य सरकारी निकायसँग समन्वय गर्ने अधिकारीको रुपमा लिइने भएकाले चिफ अफ स्टाफलाई राष्ट्रपतिको गेट किपर भन्ने गरिन्छ ।

६७ वर्षीया विल्स फ्लोरिडामा राजनीतिक रणनीतिकारको रुपमा लामोसमयदेखि सक्रिय छन् । यसअघिको कार्यकालमा राष्ट्रपति ट्रम्पले चार जना चिफ अफ स्टाफ फेर्नुभएको थियो ।

विल्ससँगै ट्रम्पको चुनावी अभियानका अर्का म्यानेजर क्रिस ला सिभिटा हुन् ।
 

टिप्पणीहरू