माओवादी बैठक स्थगित, एमालेले बोलायो
प्रमुख प्रतिपक्ष नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक स्थगित भएको छ ।
आसन्न उपनिर्वाचनका लागि उम्मेदवार टुंगो लगाउन माओवादीले आज बिहान ११ बजेका लागि बैठक बोलाएको थियो । पर्सि आइतबार अपराह्न ३ बजे पार्टी मुख्यालय पेरिसडाँडामा बस्नेगरी आजको बैठक स्थगित भएको सो पार्टीले जनाएको छ ।
सत्तारुढ नेकपा एमालेले पनि सचिवालय बैठक बोलाएको छ । उपचुनाव केन्द्रित छलफलका लागि भोलि बिहान ११ बजे बैठक बस्न लागेको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।
एमालेले स्थानीय तहका ४४ वटै पदमा एकल उम्मेदवारी दिने तयारी गरेको छ । यसका लागि अधिकांश ठाउँमा उम्मेदवार छनोट गरिसकेको छ भने केही ठाउँको भोलिको बैठकले टुंगो लगाउने गौतमले बताए ।
मङ्सिर १६ गते विभिन्न ४४ पदमा उपनिर्वाचन हुँदैछ । जिल्ला समन्वय समिति प्रमुख, नगर प्रमुख, उपप्रमुख, गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र वडाध्यक्ष गरी रिक्त ४४ पदमा हुने उपचुनावका लागि मंसिर २ गते मनोनयन दर्ताको मिति तोकिएको छ
सो समयसीमा नजिकिएसँगै दलहरु उम्मेदवार चयनका लागि आन्तरिक तयारीमा जुटेका छन् ।
टिप्पणीहरू