एमाले सांसदद्वारा मानव तस्करीमा संलग्नता अस्वीकार
मानव तस्करी प्रकरणमा मुछिएका कोशी प्रदेशका निवर्तमान कानुनमन्त्री तथा एमाले सांसद लिलाबल्लभ अधिकारीले आरोप अस्विकार गरेका छन् । जिन्दगीमा अहिलेसम्म आफूले अंग्रेजीमा हस्ताक्षर नगरेको जनाउँदै उनले मानव तस्करीमा संलग्न नरहेको प्रष्टीकरण दिएका हुन् ।
केही व्यक्तिलाई अवैध रुपमा जापान पुर्याउन अधिकारीले मन्त्रालयको नक्कली परिचय पत्र बनाइदिएको आरोप लागिरहेको छ । तर, उनले त्यसको खण्डन गर्दै आफूलाई बदनाम गराउन तस्करहरुको गिरोहले फसाएको दावी गरे ।
साथै उनले यस प्रकरणबारे प्रहरीलाई सबैभन्दा पहिले आफूले नै सूचना दिएकोसमेत जिकिर गरेका छन् । दोषीलाई कारवाहीको दायरामा ल्याउन माग गर्दै अधिकारीले आफ्नो संलग्नता पुष्टि भए सजायँ भोग्न तयार रहेको बताए ।
‘उनीहरुले मलाई प्रयोग गर्न खोजेका रहेछन्, उनीहरुसँग मन्त्रालयको नक्कली कार्ड रहेछ, त्यो कार्डमा अंग्रेजी हस्ताक्षर गरेको छ, जबकि मैले जिन्दगीमा अहिलेसम्म अंग्रेजीमा हस्ताक्षर गरेको छैन, नेपालीमा गर्छु’, उनले दावी गर्दै भनेका छन्, ‘सरकारी छाप र दस्तखत किर्ते गर्ने तथा म जस्तै थुप्रै मान्छेलाई ठग्ने गिरोह पत्ता लगाउन म तयार छु, दोषीलाई कारवाहीको दायरामा ल्याउनुपर्छ, यदि मेरो संलग्ता पुष्टि हुन्छ भने म पनि सजायकाे लागि तयार छु ।’
कतिपय मिडियाले आफूलाई नै यस प्रकरणको मुख्य नाइके बनाएर सामाचार सम्प्रेषण गरेको जनाउँदै उनले चित्त दु:खाएका छन् । भन्छन्,‘प्रहरीलाई सूचना दिने सूचक नै म हुँ, मलाई किन मानव तस्कर बनाउने ? मैले आफू खरानी भएर, आफ्नो मन्त्री पद गुमाएर, राजीनामा दिएर तिनीहरुलाई कारबाही गर्नुपर्छ भनेर सूचना दिने मान्छेलाई धज्जी उडाएर मानव तस्करको नाईके बनाइदिने ?’
अधिकारीले जापानबाट डिर्पोट भएकाहरुसँग पहिल्यै १० देखि १२ लाखको दरले पैसा उठाएको भन्ने आरोप पनि खण्डन गरे । आफ्नो पासपोर्ट गौतम थर भएका व्यक्तिलाई बुझाएको र उसैले जापान भ्रमणको चाँजोपाजो मिलाएको उनको दाबी छ ।
आफूले एक रुपैयाँ पनि नलिएको जिकिर गर्दै भने, ‘यदि मैले पैसा लिएको पुष्टि भयो भने म झुन्डिन तयार छु ।’
टिप्पणीहरू