प्रधानमन्त्रीलाई भिजेको मुसाको संज्ञा दिँदै सुध्रिन सुझाव
आम जनता पार्टीका अध्यक्ष प्रभु साहले प्रधानमन्त्री केपी शर्मा ओलीको हालात भिजेको मुसा र व्यवहार चितवनको ध्रुबे हात्ती जस्तो भएको बताएका छन् ।
आज सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा आयोजित भेटघाट कार्यक्रममा उनले ओलीको चर्को आलोचना गर्दै त्यस्तो टिप्पणी गरेका हुन् । प्रधानमन्त्री ओलीले देशलाई समृद्धि बनाउछु भनेर झन् कंगाल बनाएको पूर्वमन्त्रीसमेत रहेका साहको दावी छ ।
‘दुई तिहाई बहुमतको निकै धाक लगाउने प्रधानमन्त्रीजीले मुलुक र जनताको समस्या समाधान गर्न सक्नुपर्थ्यो, तर त्यसमा असफल हुनुभयो, मुलुकको आर्थिक समस्या झन् बिग्रँदै गइरहेको छ’, उनले भने, ‘मुलुकलाई समृद्ध बनाउनुपर्नेमा यो सरकारले झन् राज्यको ढुकुटी सिध्याएर कंगाल बनायो ।’
अध्यक्ष साहले ओलीजस्तो निरंकुश र तानाशाही प्रवृतिको व्यक्ति आफूले अहिलेसम्म नदेखेको पनि सुनाए । ‘धाक दुई तिहाई बहुमतको लगाउने तर आलोचना गर्ने विरोधीलाई छानिछानि धरपकड गर्ने, कारवाही गर्ने, आलोचक र विरोधीलाई तर्साउने कामले मुलुक बन्दैन’, उनले थपे ।
साहले प्रधानमन्त्रीलाई बेलैमा सुध्रिन सुझावसमेत दिएका छन् । नत्र जनताले ठेगान लगाउने अवगत गराउँदै भने, ‘नागरिकस्तरबाट आलोचना हुँदा सहन नसक्नु केपी ओलीको गम्भीर कमजोरी हो । यो व्यवहार उहाँले सच्याउनुपर्छ । नत्र जनताले उहाँलाई नै ठेगान लगाउनेछन् ।’
टिप्पणीहरू