उपचुनावमा होमिएका प्रमुख दलको नजर पुथामा, यस्तो छ हिसाब
लुम्बिनी प्रदेशका रिक्त छ पदमा आगामी मंसिर १६ गते उपनिर्वाचन हुँदैछ । त्यसमध्ये सबैभन्दा बढी चर्चामा रुकुम(पूर्वको पुथा उत्तरगंगा गाउँपालिका देखिन्छ । माओवादीको आधार क्षेत्र मानिने उक्त पालिकालाई प्रमुख दलहरुले प्रतिष्ठाको विषय बनाएकाले बढी चर्चा भएको हो ।
२०७९ को स्थानीय तह निर्वाचनमा उक्त गाउँपालिकाको अध्यक्ष, उपाध्यक्षसहित अधिकांश वडामा माओवादी केन्द्रका उम्मेदवार निर्वाचित भएका थिए । तर, उपाध्यक्ष भूपेन्द्रा बुढा र वडा नम्बर २ का वडाध्यक्ष जसबहादुर श्रीपालीको गत भदौ १८ गते सवारी दुर्घटनामा निधन भएपछि उपचुनाव हुन लागेको हो । चुनावको परिणाम आफ्नो पक्षमा पार्न प्रमुख दलहरु यतिबेला आन्तरिक तयारीमा लागेका छन् ।
माओवादीको आधार क्षेत्रमै उसलाई हारको नमिठो स्वाद चखाउने नेपाली कांग्रेस–एमालेको रणनीति छ । माओवादी भने दुई वर्षअघिको जित सुरक्षित गराउने उपायको खोजीमा देखिन्छ ।
संघीय सरकारमा साझेदार रहेका कांग्रेस(एमालेले उपचुनावमा भने एक्ला–एक्लै भिड्ने निर्णय गरिसकेका छन् । तर, माओवादी प्रभाव क्षेत्र पुथा उत्तरगंगामा भने उनीहरुको तालमेल हुने सम्भावना देखिन्छ । माओवादीसँग एकल प्रतिस्पर्धा गर्न कठिन हुने दुबै पार्टीको निश्कर्ष छ र तालमेलका लागि जिल्ला तहका नेताहरु संवादमा जुटेका छन् ।
एमालेका एक नेताले भने, ‘पुथा उत्तरगंगा गाउँपालिकामा हाम्रो उपस्थिति कमजोर नै देखिन्छ । यसपटक कांग्रेससित मिलेर जाने कि भन्ने छ । तर, निर्णय भने भइसकेको छैन । हामीहरु आन्तरिक छलफलमै छौँ । छिट्टै निचोडमा पुग्छौँ ।’
कांग्रेस पनि एमालेसँग चुनावी तालमेल गर्ने पक्षमा देखिन्छ । केन्द्रमा इतर खेमाका नेता महामन्त्री गगन थापा, विश्वप्रकाश शर्मालगायत तालमेल गर्न नहुने पक्षमा छन् । तर, संस्थापन पक्ष माओवादी र स्वतन्त्र उम्मेदवारले जितेको स्थानमा एमालेसँग चुनावी सहकार्य गर्न सकारात्मक रहेकाले पुथा उत्तरगंगामा तालमेलको सम्भावना रहेको जिल्लास्थित एक नेताले बताए ।
माओवादी केन्द्र भने कांग्रेस–एमाले मिलेर आए विप्लव र एकीकृत समाजवादीको साथ लिने तयारीमा छ । सत्तारूढ दलको तालमेलले खास प्रभाव नपार्ने उपाध्यक्ष अग्निप्रसाद सापकोटा बताउँछन् ।
‘गत निर्वाचनमा पुथामा अध्यक्ष र उपाध्यक्षमा हाम्रो पार्टीका उम्मेदवार भारी मतले विजयी हुनुभएको थियो । दुर्भाग्य उपाध्यक्ष भूपेन्द्रा बुढाजीको दुर्घटनामा ज्यान गयो र उहाँको पद रिक्त छ । आसन्न उपनिर्वाचनमा माओवादीको उम्मेदवारले जित्ने पक्का छ,’ उनले भने ।
उपचुनाव हुन लागेको पुथा उत्तरगंगाको अध्यक्ष र उपाध्यक्षसहित पूर्वी रुकुमका अधिकांश निर्वाचित पदमा माओवादी केन्द्रको बर्चस्व छ । २०७९ को निर्वाचनमा पुथा उत्तरगंगाको अध्यक्षमा पूणिराज घर्ती ३ हजार ९१३ मतसहित विजयी हुँदा काँग्रेसका तेजेन्द्र खाम मगरले २ हजार ११३ भोट पाएका थिए ।
४ हजार ५९ मत ल्याएर उपाध्यक्ष जितेकी भूपेन्द्राको निकटम प्रतिस्पर्धी कांग्रेसकी कमला कुमारी मल्लले २ हजार १० मत पाएकी थिइन् । तेस्रो स्थानमा खुम्चिएका एमाले उम्मेदवार धर्म घर्ती बुढाले १ हजार ८१२ मत पाएका थिए ।
त्यस्तै, भूमे गाउँपालिकाको पनि अध्यक्ष र उपाध्यक्ष दुबै पदमा माओवादीका उम्मेदवार निर्वाचित भएका थिए । ३ हजार ४७२ मतान्तरसहित होमप्रकाश श्रेष्ठ अध्यक्षमा विजयी भएका थिए । उनले ३ हजार ९७५ मत पाउँदा दोस्रो भएका मंगोल नेशनल अर्गनाइजेशन पार्टीका रतनबहादुर बुढाले ५ सय ३ मत ल्याए । यहाँ कांग्रेस र एमालेले अध्यक्षमा उम्मेदवारी नै दिएका थिएनन् ।
उपाध्यक्षमा ३ हजार ९५१ मतसहित कांग्रेस–एमाले गठबन्धनका उम्मेदवारलाई हराउँदै माओवादीकी सविना बुढा निर्वाचित भएकी थिइन् । गठबन्धनका उम्मेदवार कमानसिंह डाँगीले १ हजार ३ सय ५५ भोट ल्याएका थिए ।
नौ वडा रहेको पालिकामा सात वटा माओवादीले जित्दा कांग्रेस र एमालेले एक एक जितेका छन् । सिस्ने गाउँपालिकामा पनि कांग्रेस–एमालेले गठबन्धन गरेका थिए । तर, अध्यक्षमा माओवादीका कृष्ण रेग्मी ३ हजार ७७९ मतसहित निर्वाचित भए । उनका निकटतम प्रतिस्पर्धी गठबन्धन उम्मेदवार कांग्रेसका दत्तबहादुर बस्नेतले ३ हजार ७ सय भोट पाएका थिए ।
उपाध्यक्षमा भने गठबन्धन उम्मेदवार एमालेका गोपाल रेउले निर्वाचित भए । उनले ३ हजार ७६१ मत प्राप्त गर्दा माओवादीका आस्था बिकले ३ हजार ४७४ मत पाइन् ।
आठ वडा रहेको यस पालिकामा माओवादीका चार, एमालेका ३ र कांग्रेसका एक वडाध्यक्ष छन् । २०७४ को निर्वाचनमा माओवादीले ‘क्लिनस्विप’ गरेको थियो ।
मंसिर १६ गते देशभर रिक्त ४४ पदमा उपनिर्वाचन हुँदै
टिप्पणीहरू