माओवादीसँगको एकतामा पार्टीको नाम र चुनाव चिन्ह बाधक

माओवादीसँगको एकतामा पार्टीको नाम र चुनाव चिन्ह बाधक
सुन्नुहोस्

नेकपा माओवादी केन्द्र र महिन्द्रराय यादव नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा)बीच पार्टी एकीकरणमा बिलम्ब भएको छ । एकतापछि पार्टीको नाम र चुनाव चिन्हमा सहमति जुट्न नसकेका कारण एकीकरण प्रक्रिया सुस्ताएको बताइन्छ । 

दुई दलबीच पार्टी एकताको सैद्धान्तिक सहमति भइसकेको छ । त्यसका लागि एकता संयोजन समिति पनि गठन गरिएको छ । तर, पार्टीको नाम (माओवादी) र चुनाव चिन्ह (हँसिया हथौडा) परिवर्तन गर्ने नेसपाको अडानमा माओवादी सहमत नहुँदा एकतामा ढिलाई भएको बताइन्छ ।

डा.  बाबुराम भट्टराई माओवादीसँग पार्टी एकीकरण गर्न असहमत भएकै कारण यादवको नेतृत्वमा ठूलोपंक्तिले नेसपाबाट विद्रोह गरेको थियो । सोही समूहले आठ महिना पहिले पार्टी एकताको औपचारिक निर्णयसमेत गरेको थियो । तर, हालसम्म एकताको टुंगो लागेको छैन । 

माओवादीले संस्थागत निर्णय गर्न ढिलाइ गरेकाले एकता प्रक्रिया अवरुद्ध भएको नेसपाको भनाई छ । उसले माओवादीलाई अब विलम्ब नगर्न आग्रहसमेत गरेको छ । 

यता, माओवादीमा भने तत्काल पार्टीको नाम र चिन्ह परिवर्तन गर्ने सम्भावना देखिँदैन । मंसिर १६ गते केही स्थानीय तहमा उपनिर्वाचन हुँदैछ । तत्काल निर्वाचनमा जानुपर्ने भएकाले अहिलेको अवस्थामा नाम र चिन्ह परिवर्तन गर्न नसकिने महासचिव देवप्रसाद गुरुङ बताउँछन् । 

‘नेसपासँग एकताका लागि बाधाहरू छैनन् । उसले भनेझैँ हामी पार्टीको नाम र चिह्नबारे पुनर्विचार गर्ने पक्षमा छौँ । समय लाग्ला, नेसपासँग एकता हुन्छ’, उनले भने, ‘तर, अहिले नै यो सम्भव छैन । हाम्रो सिंगो पार्टी उपनिर्वाचन केन्द्रित छ । निर्वाचन लक्षित गृहकार्यमा जुटेकाले केही समय एकताको मुद्दा ओझेल पर्नसक्छ ।’ 

गत चैत ३ गते प्रधानमन्त्री निवास बालुवाटारमा बसेको एकता संयोजन समितिको बैठकले तत्काल एकता गर्ने सहमति गरेको थियो । त्यसका लागि वैचारिक एकरूपता र संगठनात्मक तयारीका लागि चार सदस्यीय कार्यदल गठन गरिएको थियो ।  

कार्यदलमा माओवादीबाट महासचिव गुरुङ र उपमहासचिव जनार्दन शर्मा छन् भने नेसपाबाट सहअध्यक्ष गंगानारायण श्रेष्ठ र महासचिव रमेशप्रसाद यादव छन् । 

अहिलेसम्म कार्यदलको चार वटा बैठक बसेको छ । पार्टीको नाम र चिन्ह फेर्नेबारे बैठकमा गम्भीर छलफल भएको र मोटामोटी सहमति बनेको नेसपाका नेताहरु बताउँछन् । नेसपाले एकतापछि पार्टीको नाम नेकपा (समाजवादी) प्रस्ताव गरेको छ । निर्वाचन चिन्हको सम्बन्धमा भने छलफल चलिरहेको बुझिएको छ । 

नेत्रक्रिम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पनि एकताको पक्षमा देखिएकाले तत्काल नाम र चिन्ह परिवर्तनको अवस्था नरहेको माओवादी स्रोत बताउँछ । नेसपा र नेकपासँग एकै चरणमा पार्टी एकता गर्ने गृहकार्यमा माओवादी छ । दुई दलसँग एकैपटक एकता हुँदा आवश्यकता अनुसार साझा नाम र चिन्ह राख्न सकिने माओवादीको बुझाई छ । 

केन्द्रीय कमिटीको बैठकपछि पार्टीको नाम र चुनाव चिन्ह फेरबदलबारे निर्णय हुनसक्ने माओवादी महासचिवको भनाई छ ।

टिप्पणीहरू