भैरहवा लैजानुअघि नेताहरूसँग रविकाे छलफल

भैरहवा लैजानुअघि  नेताहरूसँग रविकाे छलफल

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसँग उपसभापतिद्वय डा.स्वर्णिम वाग्ले र डोलप्रसाद अर्याल (डीपी) ले भेट गर्न लागेका छन् ।

सहकारी संस्थाको बचत अपचलनको आरोपपछि ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको अनुसन्धानका निम्ति उनी कात्तिक २ गते काठमाडौंमा पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका लामिछानेसँग उपसभापतिद्वय वाग्ले र अर्यालले भेट्न लागेको बताइन्छ ।

उनीहरुबीच दिउँसो ३ बजे भेटघाटका लागि आफूहरुले जिल्ला कारागार कार्यालय कास्कीलाई आग्रह गरेको अर्यालले बताए । उनीहरुबीच दिउँसो ३ बजेदेखि ५ बजेसम्म भेट हुन लागेको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी एवम् प्रहरी नायव उपरीक्षक बसन्तकुमार शर्माले जानकारी दिए ।

यता अर्यालले रविसँगको भेटपछि दोस्रो चरणको आन्दोलनबारे निर्णय हुने बताए । ‘उहाँको निर्देशनअनुसार पार्टी सचिवालय बैठक बसेर आन्दोलनलाई कसरी सशक्त बनाउने भन्नेबारे छलफल गर्छौँ,’ अर्यालले भने, ‘अहिले पोखरामा प्रदर्शन छैन, धर्ना जारी छ ।’ 

रास्वपाले सभापति रवि लामिछानेलाई राजनीतिक प्रतिशोध साँध्न पक्राउ गरेको आरोप लगाउँदै आएको छ । प्रहरीले रविलाई थप बयानका लागि रुपन्देही लैजाँदै छ । उनीमाथि रुपन्देहीको सुप्रिम सहकारीको रकम अपचलनको आरोप पनि छ । 

कात्तिक २ गते काठमाडौंमा पक्राउ परेका उनी सोही रातिदेखि कास्की प्रहरीको हिरासतमा छन् । जिल्ला अदालत कास्कीले उनलाई चार पटक म्याद थपिसकेको छ । 

लामिछानेलाई रुपन्देही पठाइदिन जिल्ला प्रहरी कार्यालय रुपन्देहीले कास्की प्रहरीलाई गत साता नै पत्राचार गरेको बताइन्छ । सम्भवतः उनलाई भोलि त्यता लगिँदै छ । लामिछानेविरुद्ध पूरक अनुसन्धान प्रतिवेदन लैजाने गरी इलाका प्रहरी कार्यालय बुटवलले अनुसन्धान जारी राखेको छ ।

जिल्ला प्रहरी कास्कीका एसपी श्याम ओलियाका अनुसार हिरासतमा भएका व्यक्तिलाई भेट्न बिहान ७ बजेदेखि ९ बजेसम्म र साँझ ३ बजेदेखि ५ बजेसम्मको समय छुट्याइएको छ । उपसभापति अर्याल र वाग्ले अपरान्ह ३ बजे छिरेर निस्केपछि दोस्रो तहका नेताहरु लामिछानेलाई भेट्न जाने बुझिएको छ । 

काठमाडौँमा रहेका एक नेताका अनुसार आजको छलफलपछि आगामी आन्दोलनका कार्यक्रमहरु सार्वजनिक हुनेछन् । उनले जनआस्थासँग भने, ‘दुवै उपसभापति पोखरामा हुनुहुन्छ । सभापतिज्यूलाई भेटेपछि आगामी आन्दोलन र उपनिर्वाचनको विषयमा निर्णय गरिने छ । साँझसम्म हामी केही न केही नयाँ कार्यक्रम सार्वजनिक गर्छौं ।’
 

 

टिप्पणीहरू