बक्यौता नतिरे पनि छुटाइएको लाइन जोड्न पुगे प्राधिकरणका कर्मचारी
नेपाल विद्युत प्राधिकरणले यसअघि बिजुलीको लाइन काटिएका उद्योगहरुमा धमाधम लाइन जोड्न थालेको छ । ऊर्जा मन्त्रालयमा भएको प्राधिकरण सञ्चालक समितिको बैठकले सरकारको निर्देशन कार्यान्वयन गर्ने निर्णय गरेलगत्तै उता लाइन जोड्न प्राधिकरणका प्राविधिकहरु सम्बन्धित उद्योग र कारखानामा पुगेका हुन् ।
सरकारले २४ घण्टाभित्र लाइन जोड्न अस्ति साँझ प्राधिकरणलाई ऊर्जा मन्त्रालय मार्फत् २४ घण्टाको म्यादसहित निर्देशन दिएको थियो । तर प्राधिकरण नेतृत्वले बक्यौता रकम उठेपछि मात्रै लाइन जोड्ने अडान लियो । दिउँसो बोलाइएको बोर्ड बैठक बस्न नसकेपछि हिजो साँझ ऊर्जामन्त्री दीपक खड्काले आकस्मिक पत्रकार सम्मेलन गरेर लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुभएको थियो ।
अब उद्योगहरुले १५ दिनभित्र बक्यौता रकम तिर्ने ग्यारेन्टीसहित काटिएको लाइन जोड्न थालिएको प्राधिकरणका प्रवक्ता चन्दनकुमार घोषले बताए । उनले जनआस्थासँग भने, ‘बोर्ड बैठक बसिरहेको छ । अहिलेसम्मको छलफलबाट प्रारम्भिक रुपमा सरकारको निर्देशन कार्यान्वयन गर्ने र १५ दिनभित्र बक्यौता रकम उठाउने कुरा भएको छ । बाँकी निर्णय बैठक सकिएपछि बाहिर आउला नै ।’
टिप्पणीहरू