साउदीका नेपालीलाई छोटा कपडा नलगाउन गराइयो सचेत

साउदीका नेपालीलाई छोटा कपडा नलगाउन गराइयो सचेत
सुन्नुहोस्

साउदी अरबको रियादस्थित नेपाली दूतावासले छोटा कपडा लगाएर सार्वजनिक स्थलमा नजान नेपाली समुदायलाई सतर्क गराएको छ । 

सार्वजनिक स्थलमा हाफप्यान्ट, धातुको सिक्री, ब्रासलेट लगाएर जाँदा धेरै नेपालीहरु कारबाहीमा परेपछि दूतावासले सार्वजनिक सूचनामार्फत सजग गराएको हो । साउदीको कानुनले बर्जित गरेका र त्यहाँका नागरिकलाई अप्रिय लाग्ने अन्य कार्य नगर्नसमेत दूतावासको आग्रह छ । 

साउदीको कानुनले सार्वजनिक स्थानमा छोटा हाफप्यान्ट लगाएर हिँड्न, प्रार्थनाको समयमा ठूलो आवाजमा गीत बजाउन, सार्वजनिक स्थलमा थुक्न, ज्येष्ठ नागरिक तथा अशक्तहरुलाई छुट्याएको स्थान ओगट्न, लाइन मिच्न, तडकभडक देखिने पोशाक लगाउन निषेध गरेको छ । 

त्यस्तै, अरुलाई तर्साउने वा डराउने खालको क्रियाकलाप गर्न, ट्राफिक दुर्घटना तथा अपराधजन्य घटनाको फोटो तथा भिडियो खिच्न एवं अमर्यादित ठानिएका वा यहाँको समाजलाई अप्रिय लाग्ने वा सार्वजनिक शिष्टाचार तथा नैतिकताको प्रतिकूल हुने काम गर्न त्यहाँको कानुनले रोक लगाएको दूतावासको सूचनामा उल्लेख छ । 

सार्वजनिक मर्यादाविपरीतको यस्ता कार्य गरेमा पाँच हजार साउदी रियाल र अन्य थप सजाय हुनसक्ने दूतावासको चेतावनी छ ।

टिप्पणीहरू