विदेश गएका कृषिमन्त्री १० दिनमा, मुख्यमन्त्रीको पाँच दिनमा आगमन
कृषि, पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारी १० दिनपछि स्वदेश फर्कनुभएको छ । उहाँ मेक्सिकोमा आयोजित कृषिसम्बन्धी दुईपक्षीय तथा बहुपक्षीय कार्यक्रममा सहभागी भएर आज अपरान्ह साढे ४ बजे दुबई हुँदै काठमाडौं आइपुग्नुभएको बताइएको छ ।
कृषि मन्त्रालयका सहसचिवहरु, हरिबहादुर केसी,रामकृष्ण श्रेष्ठ,वरिष्ठ अधिकृत रोशन अधिकारी र अर्थ मन्त्रालयका सहसचिव मदन दाहाल पनि मन्त्री अधिकारीसँगै फ्लाई दुबईको उडान नम्बर एफजेड ८६३९ मा फर्केका हुन् । टोली कात्तिक २१ देखि २७ गतेसम्म मेक्सिकोमा आयोजित कार्यक्रममा सहभागी हुन २० गते त्यता गएको थियो ।
यता लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य नेतृत्वको प्रतिनिधिमण्डल चीनबाट आएको छ । सिचुआन प्रान्तको राजधानी छन्तुमा आयोजित अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी भएर मुख्यमन्त्री नेतृत्वको सात सदस्यीय प्रतिनिधिमण्डल एअर चाइनाको उडान नम्बर सीए ४३७ मा आज अपरान्ह छन्तुबाट काठमाडौं आइपुगेको हो ।
टोली आइतबार राति चीन प्रस्थान गरेपछि बसेको क्याबिनेट बैठकले विदेश भ्रमणको स्वीकृति दिएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले छन्तुमा आयोजित अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन लुम्बिनीका मुख्यमन्त्री र प्रदेशका प्रमुख सचिवलाई स्वीकृति दिएको जानकारी भोलिपल्ट औपचारिक रुपमा सार्वजनिक गरिएको थियो ।
मुख्यमन्त्री आचार्य नेतृत्वको टोली छन्तुमा इन्टरनेसनल फ्रेन्डसिप सिटीज कोअपरेसन एण्ड डेभलपमेन्ट कन्फरेन्समा सहभागी हुन र समन्वय एवम् विकासको विषयमा छलफल गर्न त्यता गएको थियो । २०७६ सालमा लुम्बिनी प्रदेश र सिचुआन प्रान्तबीच भगिनी सम्बन्ध कायम भएको हो ।
टिप्पणीहरू