काँग्रेसको टिकट, कम्युनिष्टलाई चिठ्ठा !

काँग्रेसको टिकट, कम्युनिष्टलाई चिठ्ठा !
सुन्नुहोस्

आगामी उप निर्वाचनमा नेपाली काँग्रेसले योग्य उम्मेदवार नउठाए हेटौंडा उपमहानगरपालिका वडा नम्बर १२ मा वाम उम्मेदवारलाई खुदो पल्टने पक्का भएको छ । २०७९ वैशाखको स्थानीय तह निर्वाचनबाट वडाध्यक्षमा विजयी ललितबहादुर घलान जिल्ला समन्वय समिति मकवानपुरको प्रमुख भएपछि रिक्त पदमा मंसिर १६ गते उपनिर्वाचन हुँदै छ । 

उपनिर्वाचनमा मुख्यतः नेपाली काँग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका उम्मेदवारबीच कडा प्रतिस्पर्धा हुने अनुमान गर्न सकिन्छ । गत निर्वाचन परिणामले उक्त अवस्था देखाए पनि पछिल्लो गतिविधिले काँग्रेसले उठाउने उम्मेदवारको कारण उसैलाई ठूलो धक्का लाग्ने काँग्रेसीहरुको अनुमान छ । 

हुनतः तीनवटै दलले उम्मेदवारको नाम टुंग्याएका छन् । काँग्रेसले अर्जुन तिवारीलाई, एमालेले युवा संघ मकवानपुरका अध्यक्षसमेत रहेका राजेश नगरकोटी र माओवादीले रविन प्रधानलाई अगाडि सारेका छन् ।

अन्य साना दलले पनि उम्मेदवार उठाउने निश्चित छ तर प्रतिस्पर्धा तीन ठूला दलबीच नै हुने छ । काँग्रेसीहरुले पार्टीले निकै विवादित व्यक्तिलाई उम्मेदवार बनाएकोमा दुःखेसो पोखेको सुनिन्छ । तिवारी उनै हुन् जसले हेटौंडाका एक पत्रकारलाई फसाउन पैसाको लोभमा एक ग्रामीण महिला प्रयोग गरेर झुठो मुद्दा चलाउन उक्साएका थिए ।

२०७९ चैत ३० गते एक महिलामार्फत् पैसाको लोभमा हेटौंडाका पत्रकार इन्द्र प्रसाद बन्जारा रमेशलाई झुठो मुद्दा चलाएका थिए । ती महिलालाई बन्जराले आफूलाई राप्ती खोलाको बगरमा जबर्जस्ती करणी गरेको अडान लिन लगाएका थिए । उक्त मुद्दामा जिल्ला प्रहरी प्रमुख मकवानपुरका एसपी वामदेव गौतमले पनि सहयोग पुर्याएको इन्द्रको दाबी छ ।

उनै गौतम इन्द्रबहादुर बानियाको भूगर्भ सिमेन्ट कम्पनीका विश्वासपात्र कर्मचारीको भूमिकामा छन् । पहिले माओवादीमा हुँदा तिवारीलाई काठ तस्करीलगायतको आरोपमा पार्टीबाट निष्कासन गरेको थियो । यतिखेर उनी काँग्रेस बागमती प्रदेश सभापति बानियाँको खास पात्रको रुपमा चिनिन्छन् ।

तिवारीले ती महिलालाई आफ्नो बुलेट मोटरसाइकलको पछाडि राखेर लगेपछि राप्तीको जंगलमा नक्कली घटनास्थल देखाएका थिए । उक्त घटनाको सिसिटिभी फुटेज हेटौंडा खबरले सार्वजनिक गरेको थियो । उनै महिलाले बन्जारालाई फसाउन सहयोग नगरे गोली हानी मारीदिने धम्की दिएको अदालतको बयानमा उल्लेख छ । उनले आफूलाई झुक्याएर जाहेरीमा सहीछाप गराएको उल्लेख गरेकी छन् । अर्जुनले राप्ती नजिकको सिसौघारीमा लगेको तर बन्जरासँग त्यहाँ जाँदै नगएको पनि बयानमा सकारेकी थिइन् ।

उक्त मुद्दामा जिल्ला अदालत मकवानपुरले जाहेरवालाको दाबी नपुग्ने भन्दै फैसला सुनाइसकेको छ । सरकारी वकिलको कार्यालयले मुद्दा चलाउनु नपर्ने बताइसकेको छ । यता पत्रकार बन्जाराले घटनाका मुख्य योजनाकार तिवारीविरुद्ध मुद्दा हाल्ने तयारी गरेको बताइन्छ ।

तिवारीले मकवानपुर प्रहरी कार्यालयमा रहेकान केही मुद्दा मिलाइदिने नाममा असुल्ने गरेको, अदालतमा मुद्दा मिलाइदिन्छु भन्दै रकम उठाएको र रकम दिने व्यक्ति कारागार पुगेपछी उनी सम्पर्कविहिन हुने गरेको पीडितहरुको भनाई छ । तिवारीले नक्कली लाइसेन्स बनाएर पदमपोखरीका थापा थरका एक जनासँग २५ हजार लिएको तर ती व्यक्ति हाल कारागारमा रहेको थापाका आफन्तले बताए ।

उनै तिवारीलाई काँग्रेस मकवानपुरले वडाध्यक्षको उम्मेदवार बनाएपछि कार्यकर्ताहरु झसङ्ग भएका हुन् । यसअघिको निर्वाचनमा पनि उनी सोही पदमा उम्मेदवार थिए । माओवादीका घलानले उनलाई पराजित गरेका हुन् । यस्तो अवस्थामा पुनः वामपन्थी उम्मेदवारको पल्ला भारी हुने हेटौंडामा चर्चा छ ।

टिप्पणीहरू