विदेशमा बसेका चिनियाँहरुद्वारा भक्तपुरको मुक्तकण्ठले प्रशंसा
प्रवासबाट फर्केका चिनियाँहरुको महासंघ प्रतिनिधिमण्डलले भक्तपुर दरबार क्षेत्रको अवलोकन गरेको छ । महासंघ उपाध्यक्ष छङ स्युएयुआनको नेतृत्वको टोली आज अवलोकनका लागि भक्तपुर दरबार क्षेत्र पुगेको छ ।
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिलगायतले पुष्पगुच्छा, भादगाउँले टोपी, खादा र परम्परागत थैली प्रदान गरेर उनीहरुको स्वागत गरेका हुन् चिनियाँ नेताहरु भक्तपुर भ्रमणमा आएकोमा खुशी व्यक्त गर्दै मेयर प्रजापतिले यस्तो भ्रमणबाट नेपाली र चिनियाँबीचको सम्बन्ध थप प्रगाढ हुने बताए ।
उनले नगरपालिकाले स्थानीय कला, संस्कृतिको संरक्षणलाई विशेष ध्यान दिएको पनि जानकारी गराए । भ्रमणका क्रममा महासंघ उपाध्यक्ष छङ स्युएयुआनले सभ्यता र सांस्कृतिको आदान–प्रदानले दुई मुलुकबीचको सम्बन्धलाई बलियो बनाउने उल्लेख गर्दै भक्तपुर निकै गहकिलो सांस्कृतिक जग भएको कलात्मक शहर रहेको बताए ।
उनले नेपाल–चीनबीचको सम्बन्ध निकै पुरानो रहेको उल्लेख गरे । सांस्कृतिक आदान–प्रदानमार्फत दुई मुलुकबीचको सम्बन्धलाई अझ अगाडि बढाउनुपर्ने धारणा राख्दै स्युएयुआनले भने, ‘भक्तपुरको सम्पदा संरक्षणको कामबाट हामी धेरै प्रभावित छौं ।’
भेटमा चिनियाँ प्रतिनिधिमण्डलका सदस्यसहित चिनियाँ दूतावासका काउसिलरको उपस्थिति थियो । पाहुनाहरुले भक्तपुर दरबार क्षेत्रमा अवस्थित राष्ट्रिय कला संग्रहालय, स्वर्णद्वार, पचपन्न झ्याले दरबार, सिद्धिलक्ष्मी मन्दिर, सिलु महादेव मन्दिर, चर्तुब्रम्ह महाविहारसहित टौमढी क्षेत्रको पाँचतले मन्दिर, भैवनाथ मन्दिर, गःहिटीको लक्ष्मीनरसिंह मन्दिर हुँदै तालाक्व क्षेत्रमा मृत्तिका कलाको पनि अवलोकन गरेको नगरपालिकाले जनाएको छ ।
अवलोकनपछि मेयर प्रजापतिले उपाध्यक्ष स्युएयुआनलाई ‘मयुरको झयाल’ र नगरपालिकाका प्रकाशनहरु उपहारस्वरुप प्रदान गरेका थिए ।
टिप्पणीहरू