शक्ति प्रदर्शनमा केन्द्रित दलहरुद्वारा ‘कोभन्दा को कम’ को शैली अनुशरण

शक्ति प्रदर्शनमा केन्द्रित दलहरुद्वारा ‘कोभन्दा को कम’ को शैली अनुशरण
सुन्नुहोस्

अस्थिर राजनीतिबाट दिक्क भएका सर्वसाधारणलाई कसरी आशाको प्रत्याभूति दिलाउने ? यसतर्फ  राजनीतिक दलहरुले चासो दिएको देखिँदैन । तर कार्यकर्ता सडकमा ओरालेर शक्ति प्रदर्शनको प्रतिस्पर्धा गर्न उनीहरु तम्तयार छन् ।

सरकारको नेतृत्व गरिरहेको नेकपा (एमाले)ले आगामी मंसिर ७ गते काठमाडौँमा बृहत प्रदर्शन गर्दैछ । बागमती प्रदेश कमिटीको आयोजनामा हुन लागेको प्रदर्शनलाई जागरण सभाको नाम दिइएको छ । 

प्रदेश इन्चार्ज डा. राजन भट्टराईले एक लाख कार्यकर्ता सडकमा ओर्लिने दाबी गरेका छन् । उक्त सभालाई पार्टी अध्यक्षसमेत रहनु भएका प्रधानमन्त्री केपी शर्मा ओली र महासचिव शंकर पोखरेलले सम्बोधन गर्ने बताइएको छ । 

यसअघि कात्तिक १० गते प्रमुख प्रतिपक्षी माओवादी केन्द्रले पनि राजधानीमा खबरदारी सभा गरेको थियो । सभालाई पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित शीर्ष नेताहरुले सम्बोधन गरेका थिए । सभामा २० हजारभन्दा बढी कार्यकर्ताको सहभागिता रहेको माओवादीको दावी छ । 

त्यस्तै, संसदको चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टीले पनि सभापति रवि लामिछाने पक्राउको विरोधमा प्रर्दशन गर्न थालेको झण्डै एक महिना भएको छ । सहकारी ठगीको आरोपमा कात्तिक २ गते पक्राउ परेपछि भोलिपल्टबाटै कार्यकर्ताले विरोध प्रदर्शन गरेका हुन् । 

यद्यपि, अहिले रास्वपाको प्रदर्शनलाई अपरिपक्वताको अर्को उदाहरण भनिएको छ । उसले दैनिक १० हजार कार्यकर्ता सडकमा ओराल्ने घोषणा गरिरहेको छ, तर दृश्यमा पुष्टि भएको छैन । त्यसैलेसरकारले रास्वपाको प्रदर्शनलाई खासै चासो दिएको पाईंदैन ।

यसरी, विरोध सभा, खबरदारी सभा, जागरण सभाको नाममा दलहरुबीच चलिरहेको शक्ति प्रदर्शनको प्रतिस्पर्धाले जनतालाई के फाइदा गर्ला ? यो गम्भीर प्रश्न उब्जेको छ । तर यसको जवाफ दलका नेताहरुसँगै नभएको राजनीतिक विश्लेषक श्याम श्रेष्ठ बताउँछन् । पछिल्लो समय जे–जति प्रदर्शन भइरहेका छन् वा हुँदैछन्, त्यसले जनताको एजेण्डालाई खासै वकालत नगरेको श्रेष्ठको बुझाई छ । जनआस्थासँगको कुराकानीमा उनले भने, ‘राजनीतिक पार्टीले सभा समारोह गर्नु स्वाभाविक हो, तर कुन उद्देश्यका लागि गर्ने भन्ने कुराले महत्वपूर्ण अर्थ राख्छ, जनताको घाउबारे बोलिन्छ कि बोलिँदैन भन्ने कुराले अर्थ राख्छ ।’

अहिले भइरहेका प्रदर्शन राजनीतिक प्रतिशोधको नतिजा भएको पनि श्रेष्ठले बताए । ‘कोभन्दा को कम’ भन्ने मानसिकताबारे जानकारी दिँदै थपे, ‘माओवादीले २० हजार कार्यकर्ता ओराल्यो, एमाले एक लाख भन्दै छ, कांग्रेसले पनि दुई लाख भन्ला ! यो स्पष्ट छ कि पार्टी नेतृत्वलाई जनताको आवश्यकता र एजेण्डाप्रति रत्तिभर चासो छैन । प्रदर्शन उनीहरुबीचको प्रतिशोधको नतिजा मात्रै हो ।’ 

एमालेले जागरण सभाको नाममा मंसिर १६ गतेको उपनिर्वाचनको माहोल आफ्नो पक्षमा पार्न खोजेको श्रेष्ठको अनुमान छ । ‘भीडको विवेक हुँदैन, तर निर्णय तथा नतिजा उलटपुलटमा विशेष अर्थ राख्छ’, उनले थपे ।

टिप्पणीहरू