निर्मला काण्डका ‘प्रत्यक्षदर्शी’ छुटे

निर्मला काण्डका ‘प्रत्यक्षदर्शी’ छुटे

कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको घटनाको प्रत्यक्षदर्शी दाबी गर्ने नवराज अर्याल छुटेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले उनलाई हाजिरी जमानीमा छोडेको हो । 

अर्याललाई हिजो बेलुका परिवारको जिम्मा लगाइएको सीआईबीका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) होविन्द्र बोगटीले बताए । उनको स्वास्थ्य अवस्था ठीक नभएकाले छोड्नुपरेको बोगटीको भनाइ छ । 

‘उहाँको स्वास्थ्य अवस्था ठीक रहनेछ । हाई सुगरका कारण बिहान–बेलुका इन्सुलिन लिइराख्नुपर्ने रहेछ । उहाँलाई यहाँ राख्न हामीलाई पनि अप्ठेरो भयो । त्यसैले परिवारको जिम्मा लगाइदिएका हौं’,उनले भने । 

एसपी बोगटीका अनुसार उनको दाबी घटनासँग मेल खाँदैन् । अर्यालले भनेको ठाउँ र घटनास्थलको दूरीमा ४० किलोमिटर फरक रहेको उनको भनाइ छ ।

‘उहाँले भन्नुभएको कुराहरु कुनैपनि एंगलबाट मिल्दैन् । उहाँले भन्नुभएको स्थान र घटनास्थलबीचको दूरीमा ४० किलोमिटर फरक छ', एसपी बोगटीले भने, 'उहाँले सरकारप्रति, प्रहरीप्रति अविश्वास फैलाउने खालको अभिव्यक्ति दिनुभएको छ । अनुसन्धान भइरहेको छ ।’

प्राइम टेलिभिजनबाट गत सोमबार राति प्रशारण भएको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँगको कुराकानीमा अर्यालले आफू निर्मला पन्त हत्या प्रकरणको प्रत्यक्षदर्शी रहेको दाबी गरेका थिए । गोरखा घर भएका उनले ३० वर्षसम्म सवारी चालकको रुपमा सरकारी जागिर खाएको अन्तरवार्तामा बताएका छन् । 

तत्कालीन खानेपानीमन्त्री बिना मगरको गाडी चलाउने आफू कञ्चनपुर पुगेको बेला निर्मलाको बलात्कार हुदैँ गरेको देखेको ठोकुवा गर्दै उनले आफ्नो सुरक्षाको ग्यारेन्टी गरिएमा घटनामा संलग्न तीन जनाको नाम खोल्ने बताएका थिए । 

उनले भनेका थिए,‘म त्यो घट्नाको प्रत्यक्षदर्शी हुँ । मेरो भ्रमण आदेश हेर्नुपर्यो । मलाई अनुसन्धान होस् । मलाई न्याय दिनुपर्यो । मेरो सुरक्षाको ग्यारेन्टी यो सरकारले दिन्छ भने म यो यो मान्छे भनेर तीन जना हुनुहुन्छ, तीनै जनाको नाम भनिदिन्छु ।’

उक्त अन्तरवार्तापछि सीआईबीले उनलाई पक्राउ गरेको हो । यता, पत्रकार धमलासँग पनि सोधपुछ गरिएको थियो ।

टिप्पणीहरू