एन्टिबायोटिक्सको अनावश्यक प्रयोगले उपचार झन् प्रभावहीन

एन्टिबायोटिक्सको अनावश्यक प्रयोगले उपचार झन् प्रभावहीन

विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह शुरु भएको छ । यो वर्ष ‘प्रतिजैविक प्रतिरोधः बुझौं, बुझाऔं, आजैबाट रोकथाममा जुटौं’ भन्ने नाराका साथ मनाईंदै छ । प्रतिजैविक प्रतिरोधबारे सचेतना फैलाउन र रोकथामका उपायहरु प्रोत्साहित गर्न हरेक वर्ष नोभेम्बर १८ देखि २४ तारिखसम्म विश्व एन्टिमाइक्रोबियल सप्ताह मनाउने गरिन्छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्ला केही वर्षयता प्रतिजैविक प्रतिरोध विश्वव्यापी चूनौतीका रुपमा देखा परेको छ । एन्टिबायोटिक्सको दुरुपयोग र अनावश्यक प्रयोगका कारण रोग गराउने जीवाणुहरुमा प्रतिरोध क्षमता विकसित हुँदै गइरहेको छ । यसबाट त्यस्ता जीवाणुहरुले गराउने रोगको उपचार झन् कठिन र प्रभावहीन बनिरहेको पाइन्छ ।

‘प्रतिजैविक प्रतिरोधका कारण हरेक वर्ष विश्वभर करिब सात लाख मानिसको मृत्यु हुने गरेको अनुमान छ,’ मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ, ‘विश्व स्वास्थ्य संगठन अनुसारयदि सुधारका उपायहरु नअपनाएमा यो संख्या सन् २०५० सम्म एक करोड पुग्न सक्ने र विश्वव्यापी आर्थिक क्षति एक सय ट्रिलियन अमेरिकी डलर बराबर हुनसक्ने अनुमान गरिएको छ ।’

नेपालजस्ता विकासोन्मुख देशमा यसको प्रभाव अझै गम्भीर हुने आकलन गर्दै मन्त्रालयले यसको समाधानका लागि मानव स्वास्थ्य, पशु स्वास्थ्य खाद्य सुरक्षा र वातावरण क्षेत्रको सामूहिक प्रयास अपरिहार्य बन्दै गएको जनाएको छ ।

टिप्पणीहरू