उपनिर्वाचनबाट उत्साही माओवादी २०८४ मा अरुसँग तालमेल नगर्ने मूडमा
माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पार्टीको एजेण्डालाई जनताले अनुमोदन गरेको बताउनुभएको छ । उपनिर्वाचनको नतिजाबाट माओवादी अभियानलाई जनताले स्वीकार गरेको पुष्टी भएको उहाँको निचोड छ ।
निर्वाचित जनप्रतिनिधिको संख्या र जनमत दुबै हिसाबबाट माओवादीले उत्साहजनक सफलता प्राप्त गरेको प्रचण्डले बताउनुभयो । मतदाताहरुलाई धन्यवाद दिँदै भन्नुभयो, ‘विभिन्न स्थानमा बनेका अवाञ्छित गठबन्धनलाई समेत चिर्दै जनताले प्रकट गरेको उत्साहपूर्ण समर्थनलाई हाम्रो पार्टी उच्च सम्मान गर्दछ ।’
प्रचण्डले जनताको विश्वासलाई अझै सुदृढ बनाउँदै जीवनस्तर बदल्ने अभियानलाई अघि बढाउने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको छ । उपनिर्वाचनलाई पार्टीले भ्रष्टाचारविरुद्ध र सुशासन पक्षको नयाँ सङ्कल्पको रुपमा लिएको अवगत गराउँदै थप्नुभयो, ‘आगामी दिनमा सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको मूल एजेण्डामा केन्द्रित रहेर हाम्रा सबै जनप्रतिनिधिलाई पूर्णरुपमा जनताको सेवामा परिचालन गर्न पार्टी प्रतिबद्ध छ ।’
अध्यक्ष प्रचण्डले ०८४ को निर्वाचनमा एक्लै चुनाव लड्ने संकेत गर्नुभएको छ । स्पष्ट पार्दै, ‘जनताले प्रकट गरेको अभिमतलाई हाम्रो पार्टीले आफ्नो एजेण्डा र आफ्नै एकल पहिचानका साथ प्रतिष्पर्धा गर्न प्राप्त गरेको जनादेशको रुपमा लिनेछ ।’
टिप्पणीहरू