रविका कार्यकर्ताको ढुंगामुढाबाट दुई दर्जन प्रहरी घाइते
चितवनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ता र प्रहरीबीच झडप भएको छ ।
सहकारी ठगीको आरोपमा पक्राउ परेका रवि लामिछानेलाई बयानको लागि जिल्ला सरकारी वकिलको कार्यालयतर्फ लैजानेक्रममा रास्वपाका कार्यकर्ता ढुंगामुडामा उत्रिएपछि झडप निम्तिएको हो । झडपमा २२ जनाभन्दा बढी प्रहरी घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी गौतम मिश्रले जानकारी दिए ।
‘पर्दशनकारीले ढुंगामुढा गरेपछि हामी पनि बल प्रयोग गर्न बाध्य भयौँ’, एसपी मिश्रले जनआस्थासँग भने, ‘पानीकाे फोहोरा र दुई/चार सेल अश्रु ग्यास हानेपछि अहिले अवस्थामा केही शान्त भएको छ ।’
पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेलाई सहारा बचत सहकारीको रकम अपचलन सम्बनधमा बयानको लागि हिजो विहान चितवन लगिएकाे हाे । यहाँ लामिछानेको निर्वाचन क्षेत्र भएकाले समर्थकहरुकाे भीड लाग्नसक्ने पूर्वानुमान गर्दै उल्लेख्य संख्यामा प्रहरी परिचालन गरिएको छ ।
कातिक २ गते काठमाडौँबाट पक्राउ परेका लामिछानेमाथि सहकारी ठगी, संगठित अपराध, लिखित किर्ने, सम्पति सुद्धीकरणलगायतका मुद्धामा प्रहरीले अनुसन्धान गरिरहेको छ ।
टिप्पणीहरू