रास्वपाकै समर्थकले रवि दाइलाई कारबाही गर भनेपछि...
सहकारी ठगी,संगठित अपराध र सम्पत्ति शुद्धिकरणको कसूरमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने गत कात्तिक २ गतेदेखि प्रहरी हिरासतमा छन् । उनलाई छोड्नुपर्ने मागसहित रास्वपा सांसद र नेता–कार्यकर्ताले निरन्तर सडक आन्दोलन गरिरहेका छन् ।
कास्की प्रहरीको हिरासतमा रहेका उनलाई बयानका लागि मंसिर १३ गते काठमाडौं ल्याइएको थियो । बुद्द एअरको विमानबाट काठमाडौं ल्याइएका उनलाई रिहा गर्नुपर्ने माग राख्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा समर्थकहरुले नाराबाजी गरे ।
यता,जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंमा बयान शुरु भएपछि पार्टीका नेता–कार्यकर्ता र समर्थकहरु माइतीघर मण्डलामा आन्दोलनमा उत्रिए । पार्टीकी केन्द्रीय सदस्य ज्वाला संग्रौलाले नेतृत्व गरेको शक्ति प्रदर्शनमा झण्डै दुई दर्जन उपस्थित थिए । ‘राजनीतिक प्रतिशोध बन्द गर’, लेखिएको ब्यानर र हात हातमा प्लेकार्ड बोकेर नाराबाजी गरिरहेकामध्ये एक आन्दोलनकारीले एक्कासी ‘रवि दाइलाई कारबाही गर’ भन्दै नारा लगाए ।
उनले त्यसो भनेपछि संग्रौलाले हत्तपत्त ‘रवि दाइलाई रिहा गर’ भनिन् । हाल सामाजिक सञ्जालमा उक्त भिडियो भाइरल बनेको छ । झुक्किएर भए पनि सत्य बोलेको भन्दै सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले रास्वपामाथि व्यङ्ग्य गरेका छन् । सामाजिक सञ्जाल प्रयोगकर्ता विनोद श्रेष्ठ लेख्छन्,‘सही हो, झुक्किएर भए पनि सही बोलेछन् । रवि दाइलाई कारबाही गर ।’
त्यस्तै,जिबा बानियाँ भन्छिन्,‘यिनलाई पनि थाहा छ गरिबले जम्मा गरेको पैसाले नै रवि यहाँसम्म आएका हुन् ।’ ‘जानेछन् झोलेहरुले बल्ल !’,शिशिर सुवेदीले लेखेका छन् ।
टिप्पणीहरू