पुराना पार्टी आउटडेटेड भए भन्ने भाष्य जनमतबाट अस्वीकृत : पोखरेल
सत्तारुढ नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले स्थानीय तह उपनिर्वाचनको परिणाम निराशाजनक नरहेको बताएका छन् ।
२०७९ सालको आम निर्वाचनमा पराजित भएका केही ठाउँमा समेत पार्टी विजयी भएको जनाउँदै उनले निराश हुनुपर्ने कुनै कारण नरहेको स्पष्ट पारे । तथापि समग्र प्रतिवेदन आएपछि पकड क्षेत्रमा मत घटेकोबारे समीक्षा गर्ने पोखरेलको भनाई छ ।
‘उपनिर्वाचनको परिणाम निराशाजनक छैन । हामीले गत निर्वाचनमा पराजित भएका ठाउँहरुमा पनि जितेका छौं । अरु पार्टीहरुले लामो समयदेखि जित्दै आएका ठाउँहरुमा पनि जितेका छौं । केही हामी आफ्नो पकड भएको क्षेत्रमा पराजित भएको अवस्था पनि छ', उनले भने, 'तर उपनिर्वाचनको समग्र रिपोर्ट आइसकेपछि हामी समीक्षा पनि गरौंला कहाँ के कमजोरी भयो ? हामीले आफ्नो शक्ति विन्यास गर्ने कुरामा कतै तलमाथि भयो कि त्यो बुझौंला । तर त्यस्तो निराशाजनक कुरा होइन ।'
काठमाडौंको कीर्तिपुर नगरपालिकाको परिणाम आफ्नो पक्षमा नरहेपनि गत निर्वाचनको भन्दा प्रगति भएको पोखरेलको दाबी छ । एमालेले निर्वाचनसँग गाँसिएका कुराहरुमा थप व्यवस्थित ढंगको व्यवस्थापन गर्नुपर्छ भन्ने पाठ सिकेको र त्यही आधारमा अघि बढ्ने उनको भनाइ छ ।
पुराना राजनीतिक दलहरु आउटडेटेड भए भन्ने भाष्य खडा गरिएपनि जनमतबाट त्यो पुष्टि हुन नसकेको बताउँदै पोखरेलले जनताले अहिले पनि प्रमुख दलप्रति नै आशा र विश्वास कायम राखेको जिकिर गरे ।
टिप्पणीहरू