प्रधानमन्त्री उत्तरबाट फर्केलगत्तै अमेरिकी सहायक मन्त्री भेट्न तयार
दक्षिण र मध्य एशियाली मामिला हेर्ने अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु नेपाल आउन लागेका छन् । दक्षिण एशियाली मुलुकको भ्रमण क्रममा लु आज भारत पुग्ने कार्यक्रम छ ।
नयाँ दिल्लीबाट श्रीलंका जाने अमेरिकी सहायक विदेशमन्त्री कोलम्बोबाट काठमाडौं आइपुग्ने कार्यक्रम छ । अमेरिकी विदेश मन्त्रालयका अनुसार सहायक विदेशमन्त्री लु दक्षिण एशियाली प्रमुख साझेदार राष्ट्रसँगको सहकार्यलाई थप मजबुत बनाउने र क्षेत्रीय समृद्धि तथा सुरक्षाबारे चासो राख्दै आउन लागेका हुन् ।
नेपाल भ्रमण क्रममा लुले उच्चस्तरीय राजनीतिक भेटवार्ता गर्ने कार्यक्रम तय भएको परराष्ट्र मन्त्रालय स्रोतले बताएको छ । सहायक विदेशमन्त्री लुले विशेषगरी नेपाल र अमेरिकाबीचको सम्बन्ध, यसको भविष्यबारे राजनीतिक दलका युवा नेताहरुसँग अन्तरक्रिया गर्ने कार्यक्रम राखिएको छ ।
डोनाल्ड लुले यसअघि पटक पटक नेपाल भ्रमण गरिसकेका छन् । एमसीसी कार्यान्वयनसम्बन्धी सम्झौता संसदबाट अनुमोदन गराउन उनी विगत केही वर्षदेखि वर्षैपिच्छे नेपाल आएका थिए । सन् २०२१ मा दुई पटक नेपाल भ्रमण गरे । सन् २०२३ मा पनि एक दिने भ्रमणका लागि उनी काठमाडौं आएका थिए ।
टिप्पणीहरू