मापदण्डविपरीत बनेका संरचना भत्काउन निर्देशन
काठमाडौं उपत्यका विकास प्राधिकरणले मापदण्डविपरीत भौतिक संरचना निर्माण नगर्न सचेत गराएको छ । योजना अनुमति नलिई संरचना बनाउने गरेको जानकारी प्राप्त भएको जनाउँदै प्राधिकरणले त्यसो नगर्न भनेको हो ।
उपत्यकाभित्रका क्षेत्रमा प्राधिकरणबाट योजना अनुमति लिएर मात्र जग्गा विकास, सामूहिक आवास, संयुक्त आवास एवं संस्थागत, सार्वजनिक, व्यापारिक, मिश्रित आवासीय, सांस्कृतिक समारोह तथा भोजभतेर स्थल, अस्पताल, विद्यालय, सभा भवन, कलेजलगायत संरचना निर्माण गर्न प्राधिकरणले आज निकालेको सूचनामा आग्रह गरिएको छ ।
‘प्राधिकरण र अन्तर्गतका जिल्ला आयुक्तको कार्यालय काठमाडौं, ललितपुर र भक्तपुरबाट योजना अनुमति प्राप्त गरी सम्बन्धित स्थानीय तहबाट नक्सा स्वीकृत गराई सोबमोजिम निर्माण कार्य गर्नु गराउनुहुन जानकारी गराइन्छ,’ सूचनामा उल्लेख छ, ‘सोअनुसार योजना अनुमति नलिई त्यस्तो कार्य गरे गराएको पाइएमा प्रचलित कानूनबमोजिम कारबाही भइजाने व्यहोरा सम्बन्धित सबैका जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।’
प्राधिकरणका अनुसार मापदण्ड विपरीत भए गरेका निर्माण कार्य हटाउन, भत्काउन आदेश दिइने छ । तर, सोबमोजिम नगरेमा प्राधिकरण आफैंले हटाउने, भत्काउने र लागेको खर्च सम्बन्धित व्यक्तिबाट असुलउपर गर्नुका साथै जरिवाना समेत हुने जनाइएको छ ।
साथै, त्यस्तो सम्पत्ति कुनै व्यहोराले हक छाडिदिन, किनबेच, अंशबण्डा गर्न, बैंक तथा वित्तिय संस्थालाई धितो बन्दकी दिन नपाउने गरी रोक्का राख्न सम्बन्धित मालपोत कार्यालयलाई लेखी पठाउने पनि प्राधिकरणले बताएको छ । प्राधिकरणले कुनै व्यक्ति तथा संघसंस्थाले अनुमति नलिई मापदण्ड विपरीत निर्माण कार्य गरेको थाहा भएमा जानकारी गराउन समेत अनुरोध गरेको छ ।
टिप्पणीहरू