‘गरिबको चमेली’ कसका लागि थियो बालेन सर ?

‘गरिबको चमेली’ कसका लागि थियो बालेन सर ?
सुन्नुहोस्

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले गाइरहने बलिदान चलचित्रको गीतमा एउटा चर्चित लाइन छ,‘गाईं त बाँध्यो,ढुंग्रोमा मोही छैन मोही छैन,गरिबको चमेली बोल्दिने कोही छैन ।’ पछिल्लो समय महानगरभित्र ठ्याक्कै त्यस्तै अवस्था छ । गरिबको लागि महानगरभित्र ठाउँ नै छैन । 

न यहाँ कसैले गरिबको चमेली बोलिदिन्छ,न सुनिदिन्छ । २०७९ वैशाख ३० गते स्थानीय तहको निर्वाचन हुनुअगाडि बालेनले एउटा अन्तरवार्ताका क्रममा सो गीत गाएका थिए । गरिबका लागि मेयरले केही गर्लान् भन्ने ठूलो अपेक्षा सर्वसाधारणले राखेका थिए । 

यद्यपि,उनी र उनका सेनाहरु गरिबको पछाडि हात धोएर लागिपरेका छन् । महानगरको मेयरमा निर्वाचित भएपछि बालेनले फुटपाथमा पसल थाप्न रोक लगाएका छन् । एक हिसाबले भन्ने हो भने त्यो राम्रो कार्य हो । विगतमा फुटपाथ पसलका कारण धेरै सवारी दुर्घटना भएको थियो । 

फुटपाथ पसलले भरिभराउ हुँदा पैदलयात्री बीच सडकबाट हिँड्न बाध्य थिए । जसका कारण दुर्घटना बढ्नुका साथै सवारी व्यवस्थापन पनि अस्तव्यस्त बनेको थियो । महानगरले फुटपाथ पसलमा रोक लगाउँदा पैदलयात्रीलाई राहत भएको छ । अर्कोतर्फ सवारी चालकलाई पनि सहज भएको छ ।

काठमाडौं धनीको मात्र होइन,गरिबको पनि शहर हो । विडम्बना,यो कुरा बालेन र उनका सैनिकले बुझेका छैनन् । बाटोमा हिँड्दै चिया बेच्नेले सडकमा जाम गर्दैनन् । न उनीहरुले फुटपाथ कब्जा गरेर पैदलयात्रीलाई हिँड्न अवरोध गरेका हुन्छन् । 

तर, महानगरले फुटपाथ व्यवसायीको बारेमा भने फिटिक्कै सोचेको पाइँदैन । फुटपाथ पसल थापेर गुजारा गर्नेहरु हजारौं छन् । तिनको रोजीरोटी फुटपाथ पसलबाटै चल्दै आएको थियो । कोठाभाडा,छोराछोरीको स्कूल फिस उनीहरुले त्यहीँबाट तिर्थें । 

कतिपयको सडकमा बसेन भने घरमा चुल्हो नबल्ने स्थिति छ । महानगरले कुनै व्यवस्थापनबिनै उनीहरुलाई सडकबाट लघारेको छ । महानगरले रोक लगाएपछि उनीहरुले लुकीलुकी व्यापार गरिरहेका छन् । नगर प्रहरी देख्नेबित्तिकै सामान उठाएर भाग्छन् । मानौं नगर प्रहरी बिरालो र फुटपाथ व्यवसायी मुसा हुन् । 

नगर प्रहरीले फुटपाथ व्यवसायी देख्नेबित्तिकै झम्टी हाल्छन् । व्यवसायीलाई लछारपछार गर्दै सामान गाडीमा हाल्छन् । नगर प्रहरीेले साँझ बिहान थर्मसमा चिया बेच्ने एउटी आमालाई यसरी नै लछारपछार गरेको भिडियो यतिबेला सामाजिक सञ्जालमा भाइरल बनेको छ । उक्त दृश्य रत्नपार्कस्थित वीर अस्पताल अगाडिको हो । 

ती आमा थर्मसमा चिया बेच्दै हिँडिरहेकी हुन्छिन् । नगर प्रहरी उनलाई देख्नेबित्तिकै बाघझैं झम्टिन्छन् । ६–७ जना नगर प्रहरीले थर्मस लुछाचुँडी गर्छन् । आमा मेरो हात मर्कियो भन्दै ठूल्ठूलो स्वरमा कराउँछिन्, रुन्छिन् र बिलौना गर्छिन् । तैपनि नगर प्रहरीले थर्मस खोसेरै छाड्छन् । 

काठमाडौं धनीको मात्र होइन,गरिबको पनि शहर हो । विडम्बना,यो कुरा बालेन र उनका सैनिकले बुझेका छैनन् । बाटोमा हिँड्दै चिया बेच्नेले सडकमा जाम गर्दैनन् । न उनीहरुले फुटपाथ कब्जा गरेर पैदलयात्रीलाई हिँड्न अवरोध गरेका हुन्छन् ।

नगर प्रहरीको उक्त हर्कतलाई धेरैले तालिबान शैली भनेका छन् । सामाजिक सञ्जाल प्रयोगकर्ता ज्ञानेन्द्र खड्का लेख्छन्,‘बालेनको लुटेरा ग्याङ । तालिबानहरु बरु सुध्रिए । बालेनले हटाउने गरिबी होइन,लखेट्ने गरिबलाई हो ।’, त्यस्तै,विराट अनुपम लेख्छन्,‘बढी भो बालेन्द्र ! वीर अस्पतालअगाडि यी आमाको हात मर्काएर के पायौ ? अनि चुनाव अगाडिको त्यो ‘गरिबको चमेली’ सन्देश यही थियो ?’

‘गरिबलाई होइन,भ्रष्टाचारीलाई चाँहि यसरी रुवाउनुपर्ने हो मेयर बालेन साह जी’,विनोद रिजाल राइजिङले भनेका छन् । विश्वर सिंह मेवाहाङ भन्छन्,‘बालेनको शहरमा गरिबले बास पाउँदैनन् ।’

 

टिप्पणीहरू