विदेश नगए भैंसीको मासु पर्याप्त निर्यात गर्न सकिने निचोड

विदेश नगए भैंसीको मासु पर्याप्त निर्यात गर्न सकिने निचोड
सुन्नुहोस्

‘भारतबाट मुर्रा राँगो ल्याइयो, चीनमा भैँसीको मासु निर्यात हुँदैछ । दुई देशको कुटनीतिक सम्बन्धमा भैँसीले यति ब्राण्डेड भूमिका खेल्छ भनेर कसलाई थाहा थियो र !’, परराष्ट्र मामिलाका एक जानकारले सामाजिक सञ्जालमा गरेको टिप्पणी हो यो । 

चीन भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली र समकक्षी ली छ्याङबीच भएको नौ बुँदे सहमति पत्रमा नेपालबाट भैँसीको मासु निर्यात गर्ने विषय परेपछि विभिन्न टिप्पणी गर्न थालिएको छ । प्रधानमन्त्री चीन जानुअघि बेल्ट एण्ड रोड इनिसिएटिभ (बिआरआई) कार्यान्वयनको सम्झौतालाई लिएर सत्तारुढ एमाले र नेपाली काँग्रेसबीच नै विवाद देखिएको थियो । अन्ततः बेल्ट एण्ड रोड सहायता परियोजनाको कार्यान्वयन सम्झौतामा दुई देशका परराष्ट्र सचिवहरुले हस्ताक्षर गरेका छन् ।

मासु निर्यातसम्बन्धमा भएको सहमतिलाई लिएर सामाजिक सञ्जालमा प्रधानमन्त्रीमाथि व्यंग्यसमेत गरिएको छ । कतिपयले चीनले नेपालसँग कस्तो भैँसीको मासु चाहेको र, कसरी निर्यात गरिएला ? भन्ने जिज्ञासा राखेका छन् ।

गत वर्ष तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चीन भ्रमणमा जाँदा भएको मासु निर्यात सम्बन्धी सहमतिलाई यस पटक निरन्तरता दिइएको परराष्ट्र मन्त्रालयका अधिकारीहरु बताउँछन् ।

भैँसीको मासु निर्यातको प्रसंगले यतिबेला तत्कालीन प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणमा जाँदा भएको मुर्रा राँगासम्बन्धी सहमतिको सन्दर्भ फेरि चर्चामा आएको छ । प्रचण्डले मुर्रा जातको १५ वटा राँगा ल्याउनुभएको थियो । नस्ल सुधारका लागि ल्याइएका ती मुर्रा राँगालाई पोखरा, सिरहा र नेपालगञ्जमा राखिएको छ । 

यसरी दुई छिमेकी देशसँगको सम्बन्धमा भैँसीको अर्थपूर्ण भूमिका देखेपछि विशाल नाल्बो भन्छन्, ‘यो अचम्म त होइन, तर रोचक चाहीँ हो । भैँसी आदानप्रदानले सबैको भलो गरोस् ।’

अनिता भण्डारीले नेपालमा भैँसी पाल्ने जनशक्ति नै नभएको भन्दै प्रधानमन्त्री ओलीमाथि व्यंग गरेकी छन् । भनेकी छन्, ‘कहाँको मासु निर्यात गर्ने हो र ? युवाहरू विदेश गएर भैँसी पाल्ने मान्छे छैनन् । म पनि भैँसी बेचेर विदेश जाँदैछु । बरु ओलीबा, मेरो भैँसी किन्ने कोही छ भने भन्दिनुस् है ।’

टिप्पणीहरू