आधा करोड रुपैयाँको खाजामाथि समर्थकहरुले उठाए प्रश्न
‘हर्क साम्पाङले सस्तो लोकप्रियतालाई नै सबै कुराको अन्तिम निर्णायक मान्दै जाने हो भने उनी जनप्रतिनिधि हैन, ग्याङ्स्टार हुन्’, मेयर साम्पाङले आफूविरुद्ध समाचार लेखेकै भरमा पत्रकारहरुलाई धम्की दिएपछि यस्तो टिप्पणी गर्न थालिएको छ ।
समाजिक सञ्जालका किरो र अराजक अभिव्यक्तिका पर्याय मानिने साम्पाङले हिजो एक पत्रकारलाई धम्की दिए । ‘हर्क साम्पाङको मनमौजी शासन, बेथितिको दलदलमा धरान’ शीर्षकमा समाचार लेख्ने ती पत्रकारलाई उनले ‘ऐना हेर्दा थुक्ने बनाइदिन्छु’ भन्दै अशोभनीय चेतावनी दिएका हुन् ।
उनले लेखेका छन्, ‘पत्रकार भेटमा मलाई आरोप लाउने त्यो खोज पत्रकारिता गर्ने पत्रकार पनि आउनु होला, नत्र तँ मूलाको यस्तो बेइजत गर्छु कि शीर ठाडो पारेर हिँड्न सक्दैनस् नेपालमा । निक्कै फुरफुर गरिस् तिमेरुले, ऐना हेर्दा थुक्ने बनाइदिन्छु, नत्र मेरो नाम हर्क साम्पाङ होइन !’
मेयर साम्पाङ यतिकैमा रोकिएनन् । पत्रकारलाई ‘चोर फटाह’ को संज्ञा दिदै उनले फेरि थपे, ‘खोज पत्रकारिता केन्द्रका गोपाल दहाल या कोही प्रतिनिधि भोलि १० बजे तुरुन्तै धरान–१८ को ग्रीन टीमा हाजिर हुनू, अन्यथा तेरो खोज पत्रकारिताको अन्त्य गरिनछु भने मेरो नाम हर्क साम्पाङ होइन ! बुझिस् चोरफटाहा !
मेयर साम्पाङले समाचारप्रति कुनै असहमति भए कानुनी उपचार खोज्न सक्थे । तर उनले त्यसो गरेनन् । बरु पत्रकारलाई धम्काउँदै आफू चोखो भएको देखाउने प्रयास गरिरहेका छन् ।
स्थानीय सरकारको प्रमुखको जिम्मेवारीमा रहेर अशोभनीय हर्कत देखाएपछि साम्पाङ चौतर्फी प्रश्नको घेरामा तानिएका छन् । तर पनि उनले अझै गल्ती महशुस गरेको देखिँदैन ।
सामान्यतयाः अहिलेसम्म अराजक अभिव्यक्ति र गतिविधिको कारण चर्चामा आएका साम्पाङमाथि अब भने आर्थिक प्रश्न पनि उठेको छ । खासगरी कोकाह खानेपानी अभियानमा संकलित करोडौँ रकममा साम्पाङले मनमौजी गरेपछि यस्तो प्रश्न उठाइएको हो ।
उपमहागरपालिकाका एक कर्मचारीका अनुसार कोकाह खोलाको पानीलाई धरानसम्म पुर्याउने अभियानमा देश तथा विदेशबाट ७ करोड रुपैयाँ संकलन भएको यियो । उक्त रकममध्ये ५० लाख २५ हजार रुपैयाँ खाजामा मात्रै खर्च भएको साम्पाङले बताएका छन् ।
यति धेरै रकममा मेयर साम्पाङले कस्तो खाजा खुवाए होलान् ? स्थानीयको प्रश्न छ । धरान उपमहानगरपालिका–४ का तर यतिखेर कोरियामा कर्म गर्दै आएका मनोज राईले साम्पाङमाथि छानबिन गर्नुपर्ने बताएका छन् । भन्छन्, ‘हामीले नै बढी पुलपुलाएपछि आज यो अवस्था आएको हो । ५० लाख नै सकिने सुनको खाजा खाए कि क्या हो ? हामीले दुःख पसिना गरेर संकलन गरेको पैसा पारदर्शी ढंगले खर्च हुनुपर्छ । मेयरले ५० लाखको के खाजा खानुभयो ? छानबिन गरिनुपर्छ ।’
त्यस्तै, अर्की स्थानीय सुहाना राईले पनि साम्पाङको आर्थिक पृष्ठभूमि राम्रो नभएको बताएकी छन् । उनको प्रतिक्रिया छ, ‘उहाँलाई मैले चिनेको २०/२१ वर्ष भयो । माओवादी द्वन्द्वकालमा उहाँ चन्दा उठाउँदै हिँडेको अझै याद छ । देश विकास गर्ने उहाँको अठोट होला, त्यो अर्कै कुरा हो । पैसाको मामलामा चाँही उहाँ घुसपेठ गर्ने मान्छे नै हो ।’
टिप्पणीहरू