चिनियाँ विमान ओर्लेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पोखराको उडानबारे चर्चा

चिनियाँ विमान ओर्लेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पोखराको उडानबारे चर्चा

सिचुआन एअरलाइन्सको चार्टर्ड विमानमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेलगत्तै काठमाडौं विमानस्थलमा पोखरामा अन्तर्राष्ट्रिय उडानबारे चर्चा गरिएको छ । मध्यान्ह साढे १२ बजेको समयमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सभा हलमा ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थल अन्तर्राष्ट्रिय उडान गराउन सक्षम रहेको र राष्ट्रको सम्वृद्धिको लागि पोखरामा अन्तर्राष्ट्रिय उडान गरौं !’ शीर्षकमा छलफल गरिएको बताइन्छ ।

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाटा) गण्डकी प्रदेशले आयोजना गरेको कार्यक्रममा संस्थाका अध्यक्ष किशोर दाहालसहित चार दर्जनको उपस्थिति छ । गण्डकी प्रदेशका उद्योग तथा पर्यटनमन्त्री मित्रलाल बस्याल, नागरिक उड्डयन प्राधिकरण्का महानिर्देश प्रदीप अधिकारी, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्ध जगन्नाथ निरौला पनि कार्यक्रममा पुगेको बताइन्छ । 

उता पोखरामा चीनको सिचुआन प्रान्तको राजधानी छन्तुबाट आएको सिचुआन एअरलाइन्सको विमान बिहान सवा १० बजे अवतरण गरेको थियो । विमानमा फेवातालमा आइतबार र सोमबार हुने दोस्रो अन्तर्राष्ट्रिय ड्रागन डुंगा दौड प्रतियोगिता–२०२४ का लागि आएका खेलाडी, अधिकारीहरु गरेर १२९ यात्रु चीनबाट आएका हुन् ।

गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका, नेपालस्थित चिनियाँ दूतावास र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजना तथा नेपाल ड्रागन बोट एसोसिएसन, पोखरा पर्यटन परिषद् र पोखरा ओभरसिज चाइनिज एसोसिएसनको सहआयोजनामा हुन लागेको प्रतियोगितामा नेपालका ११, चीनका आठ र सिंगापुरका एक गरी २० वटा समूहको सहभागिता छ ।

टिप्पणीहरू