मेयरको धम्कीप्रति महासंघको आपत्ति
सुनसरीको धरान उपमहानगरपालिकाका मेयर हर्कराज साम्पाङले पत्रकारलाई धम्क्याएकोमा नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ । समाचारको विषयलाई लिएर उनले सामाजिक सञ्जालमार्फत् धम्काएको भन्दै महासंघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
महासंघले सार्वजनिक पदधारी प्रमुखजस्तो जिम्मेवार व्यक्तिबाट पत्रकारलाई धम्की दिनु अत्यन्त निन्दनीय हुनुका साथै प्रेस स्वतन्त्रतामाथि ज्यादती भएको बताएको छ । खोज पत्रकारिता केन्द्र (खोपके) का पत्रकार गोपाल दाहालले साम्पाङबारे लेखेको समाचार प्रकाशित भएपछि मेयर साम्पाङले आज बिहान सामाजिक सञ्जालमा धम्कीपूर्ण स्ट्याटस लेखेका हुन् । उक्त स्टाटसलाई उल्लेख गर्दै महासंघले विज्ञप्ति जारी गरेर ध्यानाकर्षण भएको जनाएको हो ।
मेयरले ‘खोज पत्रकारिता केन्द्रका गोपाल दाहाल या कोही प्रतिनिधि भोलि १० बजे धरान १८ को ग्रीन टीमा हाजिर हुनु । अन्यथा तेरो खोज पत्रकारिताको अन्त्य गरिनछु भने मेरो नाम हर्क साम्पाङ होइन’ भनी लेखेका छन् ।
समाचारप्रति चित्त नबुझे त्यसउपर कानूनी प्रक्रियामा जाने वा प्रेस काउन्सिलमा उजुरी गर्न सकिने व्यवस्था हुदाँहु्दैँ सार्वजनिक व्यक्तित्वबाट यस्तो हर्कत हुनाले अभिव्यक्ति स्वतन्त्रतामा समेत आघात पुगेको महासंघको ठम्याई छ ।
विज्ञप्तिमा, ‘साम्पाङको यो अराजक र अशोभनीय हर्कतले पत्रकारलाई पेसाप्रति हतोत्साहित र त्रसित बनाउनुका साथै विचार र अभिव्यक्ति स्वतन्त्रताको अधिकारमा समेत आघात पुग्ने महासंघको ठहर छ । महासंघ प्रेसको संवैधानिक अधिकारको सम्मान गर्न र यस किसिमका घटना दोहोरिन नदिने वातावरण निर्माण गर्न सम्बन्धित निकायसँग माग गर्दछ ।’
टिप्पणीहरू