रत्नपार्कमा ऊर्जामन्त्रीको विश्रामकक्ष : ‘जोसुकैलाई सहज पहुँच’
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दिपक खड्काको निम्ति नेपाल विद्युत प्राधिकरणको मुख्यालय, रत्नपार्कमा छुट्टै कार्यकक्ष बनाइएपछि राजनीतिक वृत्तमा विभिन्न टिकाटिप्पणी शुरु भएको छ । कतिपयले त्यसलाई स्वाभाविक रुपमा लिएका छन्, भने कतिपयले प्राधिकरणको काम कारवाहीमाथिको हस्तक्षेप प्रयास भनेका छन् ।
यसैबीच माओवादी केन्द्रले ऊर्जामन्त्री खड्काको पछिल्लो हर्कतप्रति आपत्ति जनाएको छ । आज बिहान खुमलटारमा बसेको पार्टी पदाधिकारी बैठकपछि प्रवक्ता अग्निप्रसाद सापकोटाले भने, ‘प्राधिकरणले लाइन काट्ने कुरा गरिरहेको छ । त्यसमा मन्त्रीले नै अनौठो इतिहासमै नभएको कुरा विद्युत प्राधिकरणमै कार्यकक्ष खोलेर प्राधिकरणले गरिरहेको काममा अवरोध सिर्जना गर्ने काम भइरहेको छ ।’
त्यस्तै, सत्तारुढ दलका नेताहरुले पनि प्राधिकरणमा कार्यकक्ष बनाएका मन्त्री खड्काको गतिविधिमा प्रश्न उठाएका छन् । नेकपा (एमाले) का एकजना सांसद भन्छन्, ‘मन्त्रीज्यूले किन यस्तो कदम चाल्नुभयो, कारण उहाँलाई नै थाहा होला । तर डेडिकेटेड र ट्रंकलाइनको विवाद कायमै रहेको अवस्थामा मन्त्रीज्यूले नीतिगत समाधान खोज्नुपर्ने हो, प्राधिकरणमै गएर बस्ने होइन ।’
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ राजधानीमा नहुनु र सोही बेला मन्त्री खड्काले कार्यकक्ष बनाउनुलाई संयोग मात्र मान्न नसकिने कतिपयको तर्क छ । आखिर मन्त्री खड्काले प्राधिकरणमै कार्यकक्ष बनाएर बस्नुको कारण के होला ? यसको ठोस कारणबारे प्राधिकरणका कर्मचारीहरू पनि अनभिज्ञ छन् । यद्यपि, मन्त्री खड्काले कार्यकक्ष बनाएको पहिलो दिन हिजो प्राधिकरणका कर्मचारीसँग ‘अचम्म मान्नुपर्दैन, मनोबल बढाएर काम गर्नुहोला’ भन्दै परिचय गरेका थिए ।
प्राधिकरणका प्रवक्ता चन्दनकुमार घोषका अनुसार मन्त्री खड्काले प्राधिकरणलाई सहयोग गर्न कार्यकक्ष बनाएको बताए । मन्त्रीको भनाई उद्धृत गर्दै प्रवक्ता घोष भन्छन्, ‘उता (सिंहदरबारस्थित मन्त्रालय) मलाई भेट्ने सबैको पहुँच हुँदैन । पास लिनुपर्ने, पर्खिनुपर्ने झन्झट् हुन्छ , यता भयो भने भेट्न चाहनेहरुलाई सजिलो हुनेभयो ।’
मन्त्री खड्काले उर्जा मन्त्रालयमा पुर्याउनुपर्ने फाइलहरु सिधैँ आफूलाई दिन भन्दै कर्मचारीलाई जानकारी पनि गराएका छन् । प्रवक्ता घोषले उदृत गर्दै थपे, ‘मन्त्रालयमा पठाउनुपर्ने फाइल, वा कुनै अड्किएका फाइल छन् भने सिधैँ मेरो कार्यकक्षमा लिएर आउदा हुन्छ । तपाइँहरुलाई सजिलो होस् भनेर म यहाँ आएको हुँ ।’
टिप्पणीहरू