ऋण ऋण भन्दै सारंगी बजाइएकोमा प्रधानमन्त्री अचम्मित

ऋण ऋण भन्दै सारंगी बजाइएकोमा प्रधानमन्त्री अचम्मित
सुन्नुहोस्

प्रधानमन्त्री केपी शर्मा ओलीले चीनसँग भएको बिआरआई फ्रेमवर्क सम्झौतामा कहिँकतै ऋण शब्दावली उल्लेख नगरिएको बताउनुभएको छ । चार दिने चीन भ्रमण सकेर आज स्वदेश फर्किनुभएका उहाँले पत्रकारहरुसँग कुरा गर्दै ऋणबारे उल्लेख नै नभएको स्पष्ट पार्नुभएको छ । 

बरु कतिपय मिडियाले ‘ऋणको रुपमा सम्झौता गरियो’ भनेर गलत प्रचार गरेको जनाउँदै प्रधानमन्त्रीले गुनासो गर्नुभएको छ । ‘अहिले हामीले जे प्राप्त गरेका छौं, त्यो ऋण होइन’, उहाँले भन्नुभयो,  ‘ऋणको कुरा चलेकै छैन, तर पनि किन ऋण, ऋण भनेर सारंगी बजेको छ, मैले बुझ्न सकेको छैन ।’

एमाले अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री ओलीले अब सरकारको नेतृत्व गर्न आफूसँग १८ महिना मात्र बाँकी भएको पनि स्मरण गर्नुभयो । चीन भ्रमणले प्रधानमन्त्रीको कार्यकाल लम्बिएको हो ? भन्ने पत्रकारको प्रश्नमा उहाँले जवाफ दिनुभयो, ‘केही लम्बिएको पनि छैन, केही घटेको पनि छैन । अब १८ महिना म सरकार चलाउँछु, त्यसपछि म आफैं शेरबहादुर देउवाजीलाई हस्तान्तरण गर्छु । उहाँले डेढ वर्ष चलाउनुहुन्छ, चुनाव पनि गराउनुहुन्छ ।’

त्यसो त, भ्रमणअघि चीनभन्दा पहिले भारत जानुपर्ने भन्दै कतिपयले प्रधानमन्त्री ओलीको आलोचना गरेका थिए । सोही प्रसंग कोट्याउँदै पत्रकारले सोधे, ‘दक्षिण भ्रमण कहिले नी ?’ ‘अब चाँडै एरेञ्ज गर्नुपर्छ, कहिले भन्ने कुरा फर्किएकै दिन कसरी टुंग्याउन सकिन्छ’, उहाँको जवाफ छ ।

टिप्पणीहरू