पूर्व मन्त्रीमाथि पुनः अनुसन्धानको माग गर्दै सर्वोच्चमा रिट
मानव तस्करी प्रकरणमा कोशी प्रदेशका पूर्वमन्त्री लिलाबल्लभ अधिकारीलाई उन्मुक्ति दिलाउने सरकारी वकीलको कार्यालय काठमाडौँको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ ।
सरकारी वकीलको कार्यालयले एउटै प्रकरणमा पक्राउ परेका १२ जनामध्ये ११ जनाविरुद्ध मुद्दा दर्ता गर्दै अधिकारीविरुद्ध कुनै मुद्दा नचलाउने निर्णय गरेको थियो । उक्त निर्णय बदर हुनुपर्ने र अधिकारीमाथि पुनः अनुसन्धान गरी मुद्दा दायर गर्न आदेशको मागसहित वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले आज रिट दर्ता गरेका हुन् ।
त्रिपाठीले यसअघि मंसिर १४ गते नै सर्वोच्चमा रिट निवेदन दर्ता गराउन खोजेका थिए । तर सर्वोच्च प्रशासनले उक्त रिट दरपीठ गरिदिएको थियो । आज इजालसले नै रिट दर्ता गर्न प्रशासनलाई आदेश दिएको हो ।
कात्तिक २६ गते विराटनगरबाट पक्राउ परेका अधिकारीमाथि केही व्यक्तिलाई मन्त्रालयको नक्कली परिचय पत्र बनाइदिएर अवैध रुपमा जापान पुर्याउन खोजेको आरोप छ । सरकारी वकीलको कार्यालयले मुद्दा नचलाउने निर्णय गरेपछि उनलाई मंसिर १० गते हिरासतमुक्त गरिएको हो ।
टिप्पणीहरू