हिजो बिहान राजा आए,आज आइन् रानी

हिजो बिहान राजा आए,आज आइन् रानी
सुन्नुहोस्

भुटानी रानी जेस्टुन पेमा वाङचुङ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ट्रान्जिट कक्षमा केही बेर रोकिएकी छन् । दोहाबाट कतार एअरवेजको उडान नम्बर क्युआर ६५२ मा अधिराजकुमारी आशी एउफेल्मा छोतन वाङचुकलगायत सात जनाको टोलीसँगै रानी जेस्टुन बिहान पौने १० बजे काठमाडौं आइपुगेकी हुन् ।

आगमनबाट विमानस्थलको विशिष्ट कक्षमा ट्रान्जिटको रुपमा केहीबेर बसेर उनको टोली ड्रुक एअरको उडान नम्बर केबी ४०१ मा भुटानको पारोतर्फ प्रस्थान गरेको छ । 

रानीलाई परराष्ट्र मन्त्रालयका सहसचिव भृगु ढुंगाना र नेपालका लागि भुटानी राजदूतले स्वागत गरेको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ । यसअघि मन्त्रालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयलाई अस्ति लेखेको प.सं. ०८१/८२/१८ मा भुटानकी रानी र अधिराजकुमारी स्वयम्भूनाथ र बौद्धनाथमा पूजापाठ गर्न हिजो बिहान काठमाडौं आउन लागेकाले आवश्यक प्रबन्धको निम्ति अनुरोध गरिएको थियो  । 

नायव शिष्टाचार महापाल नितेश सापकोटाले लेखेको पत्रमा रानी र अधिराजकुमारी बिहान १० बजे कतारको राजधानी दोहाबाट कतार एअरवेजको उडान नम्बर क्युआर ६५२ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्ने उल्लेख गर्दै सात जनाको टोली स्वयम्भूनाथ र बौद्धनाथ दर्शनपछि साढे २ बजे विमानस्थल पुग्ने र स्वदेश प्रस्थान गर्ने भनिएको थियो ।

तर हिजो सोही समय रानी र अधिराजकुमारीको सट्टा भुटानी राजा मात्रै नयाँ दिल्लीबाट काठमाडौं उत्रिए । भुटानी रानी र अधिराजकुमारीको निम्ति मन्त्रालयले बीएए ९४१४ र बीएए ९४१५ नम्बरको सवारी साधनसमेत छुट्ट्याएको थियो । त्यसका लागि क्रमशः त्रिविक्रम श्रेष्ठ र सुनिल महर्जनलाई चालक तोकिएको थियो ।

भुटानी राजा केही घण्टाको काठमाडौं भ्रमण पूरा गरेर हिजो दिउँसो स्वदेश फर्किएका छन् । उनको स्वागत र बिदाईका लागि परराष्ट्र मन्त्री डा. आरजू राणासहित मन्त्रालयका उच्च अधिकारीहरु विमानस्थल पुगेका थिए ।

 

टिप्पणीहरू