परराष्ट्रपछि गृहमन्त्री भन्नुहुन्छ : बिआरआईमा हस्ताक्षर हाम्रै सहमतिमा

परराष्ट्रपछि गृहमन्त्री भन्नुहुन्छ : बिआरआईमा हस्ताक्षर हाम्रै सहमतिमा
सुन्नुहोस्

गृहमन्त्री तथा नेपाली काँग्रेसका नेता रमेश लेखकले आफ्नो पार्टीको सहमतिमा चीनको सहयोग परियोजना बिआरआई र त्यसको सहकार्य फ्रेमवर्कमा हस्ताक्षर भएको बताउनुभएको छ । 

विराटनगरमा आयोजित नेपाली काँग्रेस कोशी प्रदेशको प्रथम सम्मेलनलाई सम्बोधन गर्दै गृहमन्त्री लेखकले उक्त हस्ताक्षर काँग्रेस र एमालेबीचको सहमतिमै भएको उल्लेख गर्दै भन्नुभयो, ‘मुलुकको समग्र विकासका लागि आर्थिक सहायता आवश्यक छ ।’ 

यसअघि आजै परराष्ट्रमन्त्री तथा नेपाली काँग्रेस नेतृ डा. आरजू राणा देउवाले बिआरआई सम्झौताबारे अनावश्यक टिप्पणी नगर्न आग्रह गर्दै भन्नुभएको छ, ‘सम्झौतामा ऋण लिने वा दिनेबारे कुनै निर्णय भएको छैन । सम्झौताबारे बुझ्दै नबुझि टिप्पणी नगरौं । ऋण लिने÷दिने दुबै पक्षको मञ्जुरी र आग्रहमा हुन्छ ।’

प्रधानमन्त्रीको चीन भ्रमण टोलीमा रहनुभएका परराष्ट्रमन्त्रीले नेपालले चीनसँग बिआरआई बाहेक अन्य कुनै सम्झौतमा हस्ताक्षर नगरेको पनि उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, ‘बिआरआई सम्झौता आफैँ विकास सहायता हो ।’ इन्टरनेसनल कोर्ट अफ जस्टिस (आइसिजे) को जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय सुनुवाइमा भाग लिन हेग प्रस्थान गर्ने क्रममा उहाँले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उक्त टिप्पणी गर्नुभएको हो ।

यता विराटनगर सम्मेलनमा शेखर कोइराला पक्ष अनुपस्थित भएको छ । कोइराला आज दिउँसोसम्म चितवनमा रहेको बताइन्छ ।
 

टिप्पणीहरू