प्रधानमन्त्रीले पोस्ने, कर्मचारीले झोस्ने
प्रधानमन्त्री केपी शर्मा ओलीले घर जान लागेका अख्तिया प्रमुख नवीकुमार घिमिरेलाई सेवानिवृत्त हुनुअघि पूर्व सञ्चारमन्त्री गोकुल बाँस्कोटालाई चोख्याएर जान गतिलै ‘प्रेसर’ दिएको आयोग स्रोतको दाबी छ । मन्त्रीको कार्यकक्षमै ७० करोड रूपैयाँ कमिशन मोलमोलाई गरेको भनिएको ‘टेप रेकर्ड’ आयोगले प्रमाणित गरेमा बाँस्कोटामाथि लागेको आरोप पुष्टि हुनेछ ।
तर, मुख्य आयुक्तलाई जतिसुकै दबाब दिइएपनि त्यहिँका कर्मचारीले कानुन र आयोगको नजिर पल्टाउँदै बाँस्कोटालाई उन्मुक्ति दिन नमिल्ने बताएपछि घिमिरे चेपुवामा परेका थिए । यसअघि आयोगका पूर्व आयुक्त राजनारायण पाठकलाई त्यस्तै प्रकृतिको आरोपमा मुद्दा चलाएको नजिर छँदाछँदै बास्कोटालाई चोख्याउन आफूहरूले कलम नचोप्ने भन्दै कर्मचारीले अडान लिएको बताइन्छ । उनीहरूले ‘हजुर त अवकाश भएर घर गइ हाल्नुहुन्छ तर, दोषजति सबै हामी कार्यरत कर्मचारीको थाप्लोमा पर्ने भएकाले कलम चोप्दैनौं’ भनेर घिमिरेलाई सटिक जवाफ दिएर टकटकिएका थिए ।
हुनपनि पाठकलाई आयोगले एउटा मेडिकल कलेजको इजाजत लिने क्रममा भएको प्रकरणमा रङ्गेहात (स्टिङ्ग अपरेशन) पक्राउ गरेको थिएन । लम्बोदर अर्थात् दामोदर न्यौपानेले पछि बकेको र टेप रेकर्डको आधारमा नै पाठकलाई उक्त आरोपमा मुद्दा चलाएपछि आयुक्तबाट हात धुनुपरेको थियो । बाँस्कोटामाथि लागेको आरोप पाठकलाई लागेको भन्दा कुनैपनि अर्थमा फरक नभएको आयोगका कर्मचारी बताउँछन् ।
घिमिरेले आयोगका उच्च कर्मचारीलाई आफू सेवानिवृत्त हुनुअघि नै बाँस्कोटाको विषयलाई निप्ट्याउन कम्तिमा सात पटक अनुनय गरेपनि उनीहरू टसमस भएनन् । तर, प्रधानमन्त्रीले भने बाँस्कोटालाई भदौ तेस्रो साताअघि नै सफाइ दिनको लागि अनेक पहल गर्नुभएको थियो ।
भदौ २८ गते सेवानिवृत्त हुन लागेका उनलाई २६ गतेको क्याबिनेटले आजीवन सरकारी सुरक्षा प्रदान गर्ने निर्णय गर्यो । लगत्तै असोज ३ गते संविधान दिवसको उपलक्ष्यमा प्रसिद्ध प्रवल जनसेवा श्री (द्वितीय) बाट विभूषित गर्ने सुईंकोसमेत पहिल्यै दिइएको थियो । प्रधानमन्त्रीले घिमिरेलाई खुशी पार्न अनेक पहल गरेपनि घर जान लागेका प्रमुख आयुक्तलाई कर्मचारीले गुन लगाउनुपर्ने कुनै कारण नभएकाले बाँस्कोटालाई सफाई दिन खोजिएको योजना त्यत्तिकै तुहिएको बताइन्छ ।
टिप्पणीहरू