अटिजम भएका व्यक्तिका लागि काम गर्नेलाई आर्थिक सहयोग

अटिजम भएका व्यक्तिका लागि काम गर्नेलाई आर्थिक सहयोग

काठमाडौं महानगरपालिकाले अटिजम भएका व्यक्तिका लागि काम गर्दै आएका गैरसरकारी संस्थालाई आर्थिक सहयोग गर्ने भएको छ । 

महानगरका अनुसार महानगर क्षेत्रमा दर्ता भई सञ्चालनमा रहेका अटिजमसम्बन्धी अपाङ्गता भएका व्यक्तिका लागि काम गर्ने संस्थालाई सहयोग उपलब्ध गराउन लागिएको हो । त्यस्ता संस्थालाई आवश्यक कागजातसहित सामाजिक विकास विभागमा प्रस्तावना पेश गर्न आग्रह गरिएको छ । 

‘काठमाडौं महानगरपालिकाभित्र प्रचलित कानून बमोजिम दर्ता भई सञ्चालनमा रहेका, अटिजमसम्बन्धी अपाङ्गता भएका व्यक्तिहरुका लागि कार्य गर्दै आएका गैरसरकारी संस्थाहरुलाई संस्था सञ्चालनका लागि आर्थिक सहयोग गर्ने कार्यक्रम रहेकोले तपसिल बमोजिमका कागजात संलग्न राखी यो सूचना प्रकाशन भएको मितिले १५ दिनभित्र महानगरको सामाजिक विभास विभागमा कार्यक्रम प्रस्तावना पेश गर्नुहुन अनुरोध छ’, महानगरले आज सूचना जारी गर्दै भनेको छ । 

प्रस्तावनाका साथ स्थानीय प्रशासन तथा सम्बन्धित वडामा दर्ता भई आव २०८१–०८२ का लागि नवीकरण भएको प्रमाणपत्र, करचुक्ता प्रमाणपत्र, लेखा परीक्षण प्रतिवेदन, संस्थाको विधान, संस्थाको स्थायी लेखा नम्बर, महानगरमा सूचीकृत भएको पत्र, कार्यसमितिबाट बजेटसहितका प्रस्तान पेश गर्ने निर्णयको प्रतिलिपि बुझाउनुपर्ने छ । 

त्यस्तै, ३० प्रतिशत लागत सहभागिता संस्थाको तर्फबाट व्यहोर्ने प्रतिबद्धता गर्नुपर्ने र विगतमा महानगरको अनुदान रकमबाट सम्पन्न भएका कार्यक्रमको प्रतिवेदन पनि पेश गर्नुपर्छ ।

टिप्पणीहरू