युक्रेन युद्धमा मारिएका नेपालीको शव ल्याउन आवश्यक पहल गरिएन : मानव अधिकार आयोग

युक्रेन युद्धमा मारिएका नेपालीको शव ल्याउन आवश्यक पहल गरिएन : मानव अधिकार आयोग

राष्ट्रिय मानव अधिकार आयोगले आप्रवासी श्रमिकको मानव अधिकार संरक्षणमा जोड दिन सरकारलाई आग्रह गरेको छ । अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवसका अवसरमा विज्ञप्ति जारी गर्दै आयोगले आप्रवासनलाई सुरक्षित, मर्यादित र नियमित बनाउन पहलकदमी लिन अनुरोध गरेको छ । 

‘आप्रवासी श्रमिकहरुको अधिकार संरक्षणमा पर्याप्त लगानी गर्न, नीतिगत व्यवस्था गरी आप्रवासनका समसामयिक र उदयमान समस्याहरुको न्यायोचित र कानुनी रुपमा सम्बोधन गर्दै आप्रवासनलाई सुरक्षित, मर्यादित र नियमित बनाउनेतर्फ परिणाम देखिने गरी पहल कदमी लिन, घरेलु श्रमिक महिलाको अधिकारको संरक्षणको कार्य गर्न सरकार र सम्बन्धित सम्पूर्ण सरोकारवालाहरुमा आयोग आग्रह गर्दछ,’ विज्ञप्तिमा भनिएको छ । 

मुलुकको आर्थिक तथा सामाजिक स्तरोन्नतिमा आप्रवासी कामदारहरुको विप्रेषणको योगदान रहँदारहँदै आप्रवासन व्यवस्थापनमा श्रमिक र तिनका परिवारले अनुभूति गर्ने गरी अपेक्षाकृत उपलब्धि हुन नसकेको आयोगको गुनासो छ । 

आयोगका अनुसार वैदेशिक रोजगारमा जान चाहनेहरु ठगीमा पर्ने, उद्धार तथा स्वदेश फिर्ती, हराएकाहरुको खोजी र कानुनी प्रतिरक्षाको अभावमा जेल जीवन बिताइरहेको उद्धार र आप्रवासी श्रमिकहरुको स्वास्थ्य अधिकारजस्ता कार्यहरु प्रभावकारी रुपमा हुन सकेको छैन । 

यस्तै, रुस–युक्रेन युद्धका क्रममा घाइते भएका नेपाली नागरिकहरुलाई उचित क्षतिपूर्ति, मृत्यु भएकाहरुको शव फिर्ती तथा क्षतिपूर्तिजस्ता विषयहरुमा समेत प्रभावकारी पहल हुन नसकेको आयोगले जनाएको छ । 

विज्ञप्तिमा श्रमिकको अधिकार संरक्षण गर्न अन्तर मन्त्रालय र अन्तर विभाग समन्वय प्रभावकारी नभएको तथा वैदेशिक रोजगारबाट फर्किएकाको पुनः एकीकरण र स्वदेशमै पर्याप्त रोजगारीका अवसर सिर्जना हुन नसकेको पाइएको पनि आयोगले उल्लेख गरेको छ ।

टिप्पणीहरू