मौरीले टोकेको निहुँमा चितवनको माडीमा जे भयो
मौरीले टोकेको निहुँमा चितवनको माडीमा एक व्यक्तिले मौरीपालक किसानको मौरीगोलाहरुमा क्षति पुर्याएको बताइन्छ । माडी–६ स्याउलीवासका मौरीपालक किसान दामोदर देवकोटाको मिराकल गार्डेन प्रा.लि.का मौरीगोलाहरु चरनको लागि माडीकै सिधवा गाउँमा राखेर हिजो मह उत्पादन गरिएको थियो ।
हिजोराति मौरीपालक किसानलाई केही जानकारी नगराई कोही नभएको बेला एक स्थानीय व्यक्तिले मौरीले टोकेको निहुँमा मौरीगोलाहरुमा तोडफोड र आगजनी गरेर ठूलो क्षति पुर्याएको नेपाल मौरीपालक महासंघले जनाएको छ । घटनाको भत्र्सना गर्दै महासंघले आज प्रेस विज्ञप्ति निकालेर यस्ता दूषित मानसिकताधारी अपराधीको पहिचान गरी निजलाई कडाभन्दा कडा सजाय, साथै पीडित किसानलाई भएको नोक्सानीको उचित मूल्याङ्कन गरी क्षति भरपाई गराइपाउँ भनी स्थानीय सरकार र सरोकारवाला निकायहरुसँग जोडदार माग गरेको छ ।
मौरीपालन व्यवसाय सञ्चालनबाट मौरीपालक किसानले लिने फाइदाभन्दा बढी स्थानीयस्तर, जहाँ माहुरी चराइन्छ, त्यही समुदायले मौरीले गराउने परागसेचन मार्फत् खेतीबाली उत्पादन वृद्धिबाट प्राप्त गर्छ भन्ने जनचेतनाको कमीलेभन्दा पनि मौरीपालक किसानले मौरी चरनबाट गरेको महको उत्पादन र आम्दानीको रिसले अबुझ भएजस्तो गरेर सानातिना कुरामा निहुँ खोजेर माहुरीपालक किसानहरुलाई अप्ठेरो परिस्थिति बनाई मौरी चराउन नदिने, धम्क्याउने, मौरीघार पल्टाउने, फ्याँक्ने, जलाउने जस्ता कार्य हुँदै आएको नेपाल मौरीपालक महासंघका अध्यक्ष सुभाषचन्द्र घिमिरे बताउँछन् । यस्ता विकृतिहरु हाम्रो समाजमा दिनानुदिन बढ्दै गएको र मौरीकिसानहरुले ठूलो नोक्सानी बेहोर्नु परिरहेको उनको भनाइ छ ।
टिप्पणीहरू