बेपत्ता प्रहरीको खोजतलास तीब्र

बेपत्ता प्रहरीको खोजतलास तीब्र

नेपाल प्रहरीले लामो समयदेखि बेपत्ता साढे दुई दर्जन प्रहरीको खोजी थालेको छ । बिना जानकारी गैरहाजिर ३० जनालाई प्रहरी प्रधान कार्यालयले सम्पर्कका लागि सूचना निकालेको हो । 

विभिन्न मितिमा बेपत्ता उनीहरुको नाममा पटक–पटक सूचना टाँस गर्दासमेत बेवास्ता गरेको जनाउँदै सफाईका लागि अन्तिम मौका प्रदान गरिएको कार्यालयले जनाएको छ । कार्यालयले चित्तबुझ्दो स्पष्टीकरणसहित आगामी सात दिनभित्र हाजिर हुन भनेको छ । 

‘आफूखुशी कार्यालयमा गैरहाजिर रहेका र खोजतलास गर्दा गराउँदा तथा प्रहरी नियमावली, २०७१ को नियम ११५ को देहाय (२) बमोजिम प्रक्रिया पूरा गरी सूचना टाँस भई सक्दा समेत कार्यालयको सम्पर्कमा नआउनु भएकोले हाजिर हुन आउनेबारे यो सूचना प्रकाशित गरिएको छ । यो सूचना प्रकाशित भएको मितिले बाटोको म्यादबाहेक सात दिनभित्र आफू गैरहाजिर रहनुको कारण खोली सन्तोषजनक स्पष्टीकरण जवाफसहित यस कार्यालय वा सूचना जारी गर्ने कार्यालयमा हाजिर हुन आउनुहोला’, आज जारी सूचनामा उल्लेख छ ।

स्पष्टीकरण सोधिएकामा प्रहरी सहायक हवल्दार सुन्दर मेन र बुद्धिमान तामाङ, जवानहरु लक्ष्मण पाल, दिपक गजुरेल, चन्द्र श्रेष्ठ, दिपकबहादुर सिंह, दोर्जे तामाङ, माईकल तामाङ, अनिल लिम्बु, मानबहादुर खत्री, आकाश बम, सुरेन्द्र थापा, विजय स्याङतान, जनक बुढामगर, कमल दाहाल, प्रल्हाद सरदार, भक्तबहादुर निरौला, विवेक लम्जेल छन् । 

त्यस्तै, गौतमकुमार यादव, द्धोरिकाप्रसाद साह, निरन खत्री, सागर विक, दिपेन्द्र परियार, विजय रोकाय, प्राविधिक जवान प्रदिप भुजेल, सुधिर यादव, मधुमेश थारु, विमल थापा, खड्का ज्योती उलङ्रगे मगर र कार्यालय सहयोगी चन्द्र नारायण यादवलाई पनि स्पष्टीकरणसहित हाजिर हुन निर्देशन दिइएको छ । 

तोकिएको समयमा स्पष्टीकरणसहित उपस्थित नभएमा प्रहरी नियमावली, २०७१ को नियम ११३ को उपनियम (१) को खण्ड (च) को कसूरमा सोही नियमावलीको नियम १०९ को देहाय (ख) (१) बमोजिम सेवाबाट हटाउने चेतावनी दिइएको छ ।

 

टिप्पणीहरू