एनसेलको स्वामित्व खरिद बिक्री गर्न बाटो खुल्ला
दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको सेयर स्वामित्व खरिद–बिक्री रोक्न माग गर्दै सर्वोच्च अदालतमा दायर रिट खारेज भएको छ ।
न्यायाधीशहरू सपना प्रधान मल्ल र टेकप्रसाद ढुंगानाको इजलासले रिट निवेदन खारेज गर्दै केही निर्देशनात्मक आदेशसमेत दिएको छ । तर,आदेशको विवरण भने सार्वजनिक भइसकेको छैन ।
स्वतन्त्र सांसद अमरेशकुमार सिंहले गत वर्ष मंसिर २२ गते एनसेलविरुद्ध रिट दर्ता गरेका थिए । पूँजीगत लाभकर छल्ने उद्देश्यले वास्तविकभन्दा कम मूल्यमा शेयर बिक्री गर्न खोजिएको दाबी गर्दै किनबेच रोक्न कम्पनी रजिष्ट्रारको कार्यालयका नाममा अन्तरिम आदेश माग गरिएको थियो ।
एनसेल,नेपाल दूरसञ्चार प्राधिकरण, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, प्रधानमन्त्री तथा कार्यालय, आन्तरिक राजस्व कार्यालयलाई विपक्षी बनाइएको रिट पटक–पटक पेशी तोकिएर पनि सुनुवाई स्थगित हुँदै आएकोमा गत भदौ २८ गते न्यायाधीशद्वय सपना प्रधान मल्ल र सारंगा सुवेदीको इजलासले अग्राधिकार प्रदान गर्दै पूर्ण इजलासमा पेश गर्न आदेश दिएको थियो ।
अब एनसेलको स्वामित्व खरिद बिक्री गर्न बाटो खुलेको छ ।
टिप्पणीहरू